नेपाल आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश : उपराष्ट्रपति पुन

नेपाल आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश : उपराष्ट्रपति पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आजबाट नेपाल आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि नेपाली जनताको नाममा बधाई सन्देश जारी गर्दै उनले संविधानको पूर्ण कार्यान्वयन भई आर्थिक समृद्धिको युग प्रारम्भ भएको बताएका हुन् ।

 

 

 

‘अब लामो समयदेखिको राजनीतिक संक्रमणकाल पूर्ण अन्त्य भई राजनीतिक स्थायित्व आरम्भ भएको छ’, उपराष्ट्रपतिले बधाई सन्देशमा भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभाको दुई चरणको निर्वाचनपछि हाम्रो देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ ।’

 

 

उपराष्ट्रपतिले आजको दिनलाई ऐतिहासिक र गौरवपूर्ण भन्दै निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयनले पूर्णता पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले संघीयतासमेत कार्यान्वयन भएको बताएका छन् ।

 

 

 

 

‘यो निर्वाचन सम्पन्नसँगै नेपाली जनताको लामो संघर्षपछि प्राप्त संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयनले सुखद पूर्णता पाएको छ भने संघीयता कार्यान्वयन भएको छ’, उनले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन उत्सवको रुपमा सम्पन्न भएकोमा मलाई ज्यादै गौरव र खुशी लागेको छ । नेपालको राजनीतिक संघर्षमा लामो समयको सहभागीताप्रति यस अवसरमा पुनः गौरव गरेको छु ।’

 

 

उपराष्ट्रपतिले संविधान कार्यान्वयनले पूर्णता पाएकोमा नेपाली जनतामा बधाई ज्ञापन गरेका छन् ।  ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै नेपाललाई आर्थिक समृद्धिको युगमा प्रवेश गराउने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा म सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु’, बधाई सन्देशमा भनेका छन्, ‘निर्वाचनलाई महाउत्सवको रुपमा लिई दोस्रो चरणको निर्वाचनमा सहभागी भएर आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दछु ।

 

 

साथै, निर्वाचन शान्तिपूर्ण एवम् भव्य रुपमा सम्पन्न भएकोमा निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मीलगायत सबैप्रति धन्यवाद ज्ञापन गर्दछु ।’

 

उपराष्ट्रपतिले संविधान कार्यान्वयनमा राजनीतिक दलका शिर्ष नेतृत्वले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । समृद्ध नेपाल निर्माणमा पनि राजनीतिक दलहरु आपसी सहमति र सहकार्यको बाटोबाट अगाडि बढ्ने अपेक्षासमेत गरेका छन् ।