फिलिपिन्स – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद्जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरूबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लिडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरूको बीचमा साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटहरूको सामना गर्न नसकिने बताए ।
सम्मेलनको अन्तिम दिन ग्लोबल लिडर प्यानललाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘सामाजिक न्याय र मानव अधिकार संरक्षणको हकमा विभेदमा पारिएका जनता नै संकटको भुमरीमा परेका हुन्छन् । त्यसका लागि पनि एसियाली देशहरूबीच साझा कार्यक्रम र नीति बन्न जरुरी छ ।’
अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यपत्र प्रस्तुत गरी लिडर सम्मेलनलाई सम्बोधन गरेका छन् ।
एसियाली प्रजातान्त्रिक पार्टीहरूको संगठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लिडरको सम्मेलनमा भाग लिन अध्यक्ष यादव गत असार १३ गते मनिला प्रस्थान गरेका थिए ।
सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरू सहभागी थिए । जुलाई २९ तारीखदेखि सुरु भएको सम्मेलन बुधबार सम्पन्न भएको छ ।
जसपा नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य छ । अध्यक्ष यादव बिहीबार राति १०ः३० बजे मलेसिया एयरलाइन्सको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया