काठमाण्डु – नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्तादेखि नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नेसम्मका कार्यक्रम तय भएका छन् ।
भारतीय सेनाध्यक्ष द्विवेदी ५ दिने नेपाल भ्रमणका लागि बुधबार काठमाण्डु पुगेका छन् ।
काठमाण्डु पुगेर उनले बुधबारै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटघाट गर्दैछन् ।
बुधबारै उनले शशि भवनमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग अनौपचारिक छलफल गर्नेछन् ।
भ्रमणका क्रममा बिहीबार सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मुख्यालयमा ‘गार्ड अफ अनर’ दिइनेछ । त्यसपछि नेपाली सेनाका उच्च अधिकारीहरूसँग अन्तर्क्रिया कार्यक्रम हुनेछ । जंगीअड्डामा हुने अन्तक्र्रियापछि उनी राष्ट्रपति भवन शितलनिवासमा आयोजना हुने लगानी समारोहमा सहभागी हुनेछन् ।
भारतीय सेना र नेपाली सेनाबीचको परम्पराअनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी दर्जाले सम्मान गर्ने कार्यक्रम छ । त्यसपछि सेनाध्यक्ष द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् ।
भेटवार्तामा नेपाल र भारतबीचको रक्षा साझेदारीलाई थप मजबुद बनाउने विषयमा छलफल हुने जनाइएको छ । बिहीबार साँझ उनी नेपाली सेनाका प्रधानसेनापतिले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
द्विवेदीले शुक्रबार नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीका विद्यार्थीहरूलाई सम्बोधन गर्नेछन् । दिउँसो द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मनवीर राईलाई भेट्ने कार्यतालिका तय भएको छ ।
शनिबार द्विवेदी पोखरामा भूतपूर्व सैनिकहरूको र्यालीमा सहभागी हुने र विभिन्न पुरस्कार प्राप्त गर्नेहरूलाई सम्मान गर्ने कार्यक्रम छ ।
शनिबारै उनले नेपालमा ठूलो संख्यामा रहेका भारतीय सेनाका दिग्गजहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ । सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको पश्चिम पृतनालयको भ्रमण गर्ने जनाइएको छ ।
शनिबार साँझ प्रधानसेनापतिले काठमाण्डुमा विशिष्ट व्यक्तिहरूको लागि रात्रिभोजको आयोजना गर्नेछन् । सेनाध्यक्ष द्विवेदी आईतबार भ्रमण पूरा गरी स्वदेश फर्किनेछन् ।
सेनाध्यक्ष द्विवेदीको भ्रमणले नेपाल र भारतका सेनाबीचको सैन्य सहयोगलाई थप सुदृढ पार्ने र २ राष्ट्रबीचको सहकार्यमा नयाँ विकल्प खोज्ने नेपाली सेनाले विश्वास लिएको छ ।
प्रतिक्रिया