नेपालका कम्युनिस्टहरू सत्ताका लागि गिर्ने गर्छन् : अध्यक्ष यादव

नेपालका कम्युनिस्टहरू सत्ताका लागि गिर्ने गर्छन् : अध्यक्ष यादव


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्टहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेका आरोप लगाएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको आरोप लगाए ।

उनले सत्ताका लागि कम्युनिस्टहरूले राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए । कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्टमा अवसरवाद मात्रै बाँकी रहेको उनले बताए ।

सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीले मुलुकमा दुःख पाउनुपरेको उनले बताए । ‘अहिलेका कम्युनिस्ट साथीहरू नरिसाउनुहोला, अहिलेका कम्युनिस्ट पार्टीका नेताको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । त्यसको दौडमा यतिसम्म गिर्छन् कि कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ ।’