यूपीएफबारे स्पष्टीकरण दिँदै माधव नेपालले भने – मेरो नियतमाथि शंका नगर्नुस

यूपीएफबारे स्पष्टीकरण दिँदै माधव नेपालले भने – मेरो नियतमाथि शंका नगर्नुस


काठमाडौं – क्रिश्चियन धर्म प्रचारक संस्थाले गरेको एसिया प्यासिफिक समिटमा आफ्नो सहभागिताबारे स्थायी समिति बैठकमा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टिकरण दिएका छन् । नेकपाका स्थायी समिति सदस्यहरूले धर्म प्रचार गर्ने संस्थाको कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति र माधवकुमार नेपालको अध्यक्षतामाथि प्रश्न गरेका थिए ।

आइतबार बिहानको स्थायी समिति बैठकमा नेता नेपालले कार्यक्रमको उद्देश्य धर्म प्रचार नरहेको भन्दै आफ्नो सहभागिताको विषयलाई सही भएको बताए ।उनले कार्यक्रमलाई लिएर गलत र नियोजित प्रचार गरिएको टिप्पणी समेत गरे । दक्षिण कोरियाको युनिभर्सिल पिस फेडेरेशनको आयोजनामा मंसिर १४–१७ सम्म भएको समिटमा नेपाल सरकार सहआयोजक बनेको थियो । उक्त समिटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको सुशासन अवार्ड दिइएको थियो ।

‘यो कार्यक्रम धर्म प्रचारका लागि होइन’, नेता नेपालले बैठकमा भने, ‘तर आममानिसलाई त्यसरी बुझाउने काम भयो । धार्मिक उद्देश्य भएको भए हामी जाँदैनौं ।’ उनले मुलुकको संविधानमा गरिएको व्यवस्थाविरुद्धको कार्यक्रममा आफू सहभागी नहुने तर्कसमेत गरे । ‘पार्टी र मुलुकको धर्म निरपेक्षताको अडानम प्रतिवद्ध छ । हाम्रो सबै धर्म र संस्कृतिप्रति सम्मान छ । हाम्रा ऐतिहासिक रितिरिवाजमा सम्मान छ’, नेता नेपालले स्पष्ट पार्दै भने, ‘धर्मको नाममा विद्वेष फैलाउन कतिपयले नियोजित प्रचार गरे ।’ उनले आफ्नो नियतमा प्रश्न गरिएको प्रति असन्तुष्टिसमेत व्यक्त गरे ।

‘यसका कतिपय कार्यक्रमको बढी आलोचना भयो’, नेता नेपालले समिटका दौरान होली वाइन वितरण गरिएको घटनालाई इङ्गित गर्दै भने, ‘त्यसप्रति हाम्रो ध्यान गएको छ ।’ उनले सम्मेलनमा कतिपय मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी हुने भएकै कारण प्रधानमन्त्रीले निम्तो पठाइएको बताए । नेकपाका स्थायी समिति सदस्यहरूले धार्मिक कार्यक्रममा सहभागिताका लागि राज्यको तर्फबाट निम्तो गरिएको प्रति आपत्ति जनाएका थिए ।

‘अरू देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुने भएपछि कार्यक्रममा प्रधानमन्त्रीले जानुपर्ने भयो’, नेता नेपालले भने, ‘निम्तो पनि गर्नु पर्ने अवस्था बन्यो ।’ उनले सम्मेलनका कारण द्वीपक्षीय भेटवार्ता भएको भन्दै त्यसले सम्बन्ध सुमधुर तुल्याउन सहयोग गरेको दाबी गरे । ‘त्यसले केही बिग्रिएको छैन’, नेपालले भने, ‘द्विपक्षीय कुराकानी भए जे भयो फाइदा नै भयो, राम्रै भयो ।’ उनले जनताका गुनासा र मिडियामा आएका विषयमा आफ्नो ध्यान गएको भन्दै कमीकमजोरी सच्याएर जान तयार रहेको बताएका थिए ।

नेता नेपालको धारणामा भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, अग्नि सापकोटा, बेदुराम भुषाल लगायतले असन्तुष्टि व्यक्त गरेका थिए । स्थायी समिति सदस्य भीम रावलले चर्च आयोजक रहको कार्यक्रमको पृष्ठभूमि नै नहेरी सरकार र पार्टीको उच्च नेतृत्व सहभागी हुनु गल्ती भएको टिप्पणी गरे । उनले जनताको भावनामा ठेस पुगेकाले क्षमा मागेर अगाडि जानुपर्ने धारणा राखेका थिए ।

‘युनिफिकेशन चर्चको उद्देश्य कम्युनिष्ट विरोधी भावना बढाउनु र धर्म प्रचार गर्नु हो’, रावलले भने, ‘नेतृत्वले कमजोरी भएको छ, गल्ती भयो भनेर जानुपर्छ ।’ अन्य स्थायी समिति सदस्यहरूले भने आगामी दिनमा कस्ता कार्यक्रममा सहभागी हुने भन्ने विषयमा पार्टीमा पूर्वछलफल गर्न माग गरेका थिए । स्थायी समिति सदस्यहरूको टिप्पणीमा नेता नेपालले भने जवाफ दिएनन् ।