संयुक्त राष्ट्रसंघीय सैनिक सल्लाहकारमा उपरथी अधिकारीकाे आवेदन

संयुक्त राष्ट्रसंघीय सैनिक सल्लाहकारमा उपरथी अधिकारीकाे आवेदन

File Photo

काठमाण्डु – संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा उपरथी प्रेमध्वज अधिकारीले आवेदन दिएका छन् ।

यसअघि संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा सैनिक अधिकृतहरूको योग्यताकाे अभाव देखाउँदै उम्मेदवारी नदिने जनाएको नेपाली सेनाले पुनः उम्मेदवारी दिएको हाे ।

नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलाई उम्मेदवार बनाएर पठाएको हो ।नेपालले न्युयोर्कस्थित राष्ट्रसंघको लागि स्थायी नियोगमार्फत राष्ट्रसंघको मुख्यालयमा उम्मेदवारी पठाएको हो । सेनाका अनुसार नेपाललाई आवेदनका लागि राष्ट्रसंघले आग्रह गरेको सैनिक सल्लाहकार पद अवसरका हिसाबले अहिलेसम्मकै ठूलो हो ।

तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रसंघको आग्रहका बाबजुत नेपाली सेनाले कुनैपनि उम्मेदवार पठाएन । जसले गर्दा नेपाली सेनामा असन्तुष्टि बढेको थियो । तर नयाँ प्रधानसेनापति अशोकराज सिग्देल आए लगतै उक्त पदमा उम्मेदवार पठाएका हुन् ।

नेपाली सेनाले शान्ति सेना पठाउने क्रममा उच्च तहको पदका रूपमा विभिन्न मुलुकमा ७ पटक फोर्स कमान्डर हुने मौका पाएको छ। साथै नेपाली सेनाले संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सहायक सैनिक सल्लाहकार हुने अवसर पाएको थियो।

त्यतिबेला रथी चित्रबहादुर गुरुङ सहायक सल्लाहकार भएका थिए। यस वर्ष राष्ट्रसंघले नेपाललाई आवेदनका लागि आग्रह गरेको सैनिक सल्लाहकार पद भने अवसरका हिसाबले अहिलेसम्मकै ठुलो भएपनि तत्कालीन प्रधानसेनापति शर्माले कसैलाई पनि पठाउन चाहेका थिएनन्।

२०७८ असोजमा गोलनहाइटमा फोर्स कमान्डर रथी ईश्वर हमालले जिम्मेवारी सम्हालेका बेला अवकाश भएपनि उनलाई जिम्मेवारी लिइरहन सरकारले अनुमति दिएको थियो। ५८ वर्ष पुगेपछि उनको रथीका रूपमा नियमित अवकाशको समय भएको थियो।