काठमाडौं–साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि एकै दिन पन्ध्र लाख भन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ ।
उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा एक लाख सहयोग हस्तान्तरण गरेका छन् ।
उर्जामन्त्री र पूर्वसभामुख सहित वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित पाँच लाख ७८ हजार, मगर संघ साउदी अरबबाट संकलित सात लाख ५० हजार, प्रदेश सांसद लालकुमारी पुन ‘सुशिला’बाट ५० हजार र मगर संघ कतारबाट २५ हजार रुपैयाँ बिहीबार ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ ।
वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित रकम उर्जामन्त्री अनन्तले मूल समितिलाई हस्तान्तरण गरे । सोही कार्यक्रममा उर्जामन्त्री अनन्त र पूर्वसभामुख घर्तीमगरले संयुक्त रुपमा मूल समितिलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे । कार्यक्रममा तीन नं. प्रदेश सांसद सुशिलाले ५० हजार रुपैयाँ हस्तान्तरण गरिन् ।
बिहीबारै मगर संघ साउदी अरबको पहलमा संकलित सात लाख ५० हजार रुपैयाँ नेपाल मगर संघले बिहीबार मूल समितिलाई हस्तान्तरण गरेको छ । मगर संघका अध्यक्ष नवीन रोकामगरले मूल समितिलाई हस्तान्तरण गरेका हुन् ।
मगर संघको पहलमा साउदी अरबमा क्रियाशील एनए मिडिया प्रा.लि., नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट), प्रवासी मिलन एकता समाज, तमु धीं र काभ्रे सेवा समाज लगायतले सो रकम संकलन गरेका हुन् । साउदी अरबबाट विभिन्न संघ संस्थाहरुले संकलन गरेका साढे आठ लाख रकम मूल समितिलाई हस्तान्तरण गरिसकेका छन् ।
रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ ।
साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।
देशभित्रै रोजगारी सिर्जना गरेर विदेशीनुपर्ने बाध्यता रोक्छौँ : उर्जामन्त्री
सहयोग हस्तान्तरणपछि उर्जामन्त्री अनन्तले रोजगारीका लागि विदेश पुगेका नेपालीहरुले अनेक दुःख कष्ट भोगिरहेका उल्लेख गर्दै समस्या न्यूनीकरण गर्न सरकारले देशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाईरहेको बताए ।
‘रोजगारीका लागि विदेश जानुभएका नेपालीहरुले अनेक दुःख भोगिरहनुभएको छ । दिलबहादुर घर्ती त एउटा उदाहरण मात्रै हो,’ उनले भने, ‘यो समस्या हल गर्न देशमै रोजगारी सिर्जना गनुपर्दछ । यसका लागि सरकारले काम अगाडि बढाईरहेको छ ।’
दिलबहादुर घर्तीको लागि अदालतले तोकेको ब्लडमनी संकलनका लागि अनन्तकै पहलमा मूल समिति गठन गरिएको थियो । उपराष्ट्रपति पुत्र तथा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनको संयोजकत्वमा गठित मूल समितिले तोकिएको रकम करिब संकलन गरिसकेको छ ।
‘दिलबहादुरलाई समस्या आईसकेपछि उहाँका आफन्त म कहाँ आउनुभयो, मैले नै मूल समिति गठनको लागि पहल गरेँ,’ मन्त्री अनन्तले भने, ‘विश्वभरका नेपालीहरुले जसरी आफ्नै दाजु भाई सम्झेर दिलबहादुरलाई सहयोग गर्नुभयो, म सहयोग गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । उहाँको रिहाई र नेपाल ल्याउनका लागि कुटनीतिक तथा प्रशासनिक पहल म गर्छु ।’
अदालतले तोकेको ब्लडमनी उठ्यो
‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिले दिलबहादुरका लागि तोकिएको ब्लडमनी करिब संकलन भएको जनाएको छ । अदालते करिब ६५ लाख ब्लडमनी तोकेको थियो । संकलित रकम परराष्ट्र मन्त्रालय हुँदै साउदी अरबका मृतकका परिवारले पाएपछि दिलबहादुर जेलमुक्त भएर नेपाल फर्कनेछन् ।
‘हामीले अभियानको सुरु गर्दा भेनका थियौँ, दिलबहादुर घर फर्कने छन् । यसमा हामी करिब सफल भएका छौँ,’ अभियान मूल समिति संयोजक दिपेश पुनले भने, ‘ब्लडमनी रकम करिब उठिसकेको छ । केहीं दिनमै पत्रकार सम्मेलन गरेर यसको विस्तृत विवरण सार्वजनिक गर्नेछौँ । संकलित रकम परराष्ट्र मन्त्रालय हुँदै साउदी पुगेपछि दिलबहादुर घर फर्कनु हुनेछ ।’
प्रतिक्रिया