काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भन्सार कर योजनाअन्तर्गत सुरुमा दर्जनौँ देशहरूबाट अमेरिकामा आयात हुने वस्तुहरूमा कर लगाइएको छ । त्यसमा अमेरिकाका दीर्घकालदेखिका साझेदारहरू पनि परेका छन् ।
तर अप्रिल ९ मा भन्सार कर योजना लागु हुनुभन्दा केही घण्टाअघि ट्रम्पले लगभग सबैजसो देशका उत्पादनमा लगाइएको करलाई ९० दिनका लागि स्थगित गरिदिएका छन् ।
यद्यपि उनले एउटै देशका हकमा त्यसलाई स्थगित गरेका छैनन् र आफ्नो योजना कायम राखेका छन् । त्यो देश हो–चीन ।
ट्रम्पको त्यो घोषणाले केही विश्लेषकहरू अचम्भित भएका छन् र उनीहरूले ट्रम्पले वास्तवमा सधैँ आफ्नो तारोमा चीनलाई मात्र पार्न चाहेको हुन सक्ने ठानिरहेका छन् ।
यद्यपि चीनबाट समेत आयात हुने कम्प्युटर र स्मार्टफोनलगायतका विद्युतीय सामग्रीमा नयाँ कर दर लागु नहुने उनले बताएका छन् ।
आफूले पद सम्हालेदेखि नै ट्रम्पले व्यापारसम्बन्धी नीतिहरूमा आफ्नो ध्यान केन्द्रित गरेका छन् र उनले धेरै देशमाथि कर थोपरेका छन् ।
उनले व्यापारिक साझेदारहरूले अमेरिकाबाट लामो समयदेखि फाइदा लिइरहेको तर आफ्नो देशका स्थानीय उद्योगहरूले त्यसबाट सधैँ घाटा बेहोरिरहेको दाबी गर्ने गरेका छन् ।
उनको सबैभन्दा व्यापक र विवादित घोषणा भनेको अप्रिल २ मा उनले लागु गरेको कर हो । त्यसले विश्वका लगभग सबैजसो देशलाई प्रभावित गरेको छ र विश्वव्यापी व्यापार युद्ध सुरु हुने अवस्था बनाएको छ ।
उनको उक्त घोषणाका कारण नै विश्वभरिको शेअर बजारमा असर प¥यो र त्यसले संसारभरिको शेअर बजारलाई निरन्तर खस्काएको छ ।
उनले दर्जनौँ देशमाथि लगाएको करलाई ९० दिनका लागि स्थगित गरेपछि उनको योजनाबारे ह्वाइट हाउसले मुख खोलेको छ ।
तर विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँगको यो लडाइँ निकै जोखिमपूर्ण रहेको छ ।
चीनले पनि अमेरिकी सामानहरूमा १२५ प्रतिशत कर लगाएको छ र त्यो अप्रिल १२ देखि कार्यान्वयनमा आएको छ ।
ट्रम्पले जे गरिरहेका छन्, त्यो उनका पूर्ववर्ती बराक ओबामाको अमेरिकी ध्यान पूर्वतर्फ र विशेष गरी चीनको बढ्दो प्रभाव तथा शक्तिसँग जुध्न केन्द्रित गर्ने प्रयासको निरन्तरता हुन सक्छ ।
गत जनवरीमा ट्रम्प ह्वाइट हाउस पुनः प्रवेश गरेदेखि नै चीन र अमेरिका तनावपूर्ण व्यापार युद्धमा संलग्न भएका छन् । त्यसले गर्दा जबाफी करहरूको सिलसिला नै चल्यो ।
चिनियाँ वाणिज्य मन्त्रालयले ट्रम्पको करलाई व्यावहारिक रूपमा खासै अर्थ नभएका अंकहरूको खेल मात्र भएको बताएको छ ।
चिनियाँ नेताहरूले लगातार ट्रम्प प्रशासनको कदमलाई धम्की दिइरहेका छन् । त्यसको अर्थ उनीहरू ट्रम्पको नीति वा उनीसामु झुक्न चाहँदैनन् भन्ने हो ।
पछिल्लो करयुद्धअघिको अवस्थामा चीनको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीमा उसले अमेरिकामा गर्ने निर्यातको हिस्सा झन्डै दुई प्रतिशत मात्र रहेको देखिन्छ ।
ट्रम्पको पहिलो कार्यकालका तुलनामा अमेरिकामा चिनियाँ पहुँच निकै कम रहेको छ ।
अमेरिकासँगको यो व्यापार युद्धबीच चिनियाँ राष्ट्रपति सीले आफ्ना व्यापार साझेदारहरूलाई जोड्नका निम्ति काम गरिरहेको जस्तो देखिन्छ ।
चीनले ट्रम्पको करका कारण प्रभावित भएका देशहरूलाई एक हुनका लागि आह्वान गरिरहेको छ । चीनले अन्य देशहरूसँग सम्पर्क गरिरहनुको अर्थ सायद उनीहरूलाई आश्वस्त पार्नु पनि हुन सक्छ ।
चीनले अमेरिकी बजारको साटो नयाँ बजार खोज्दै गर्दा त्यो नयाँ बजारले पनि समस्याहरू देखाउने सम्भावना रहन्छ । त्यसले बेइजिङसामु कूटनीतिक अनिश्चय उत्पन्न पनि हुन सक्छ ।
अर्को समस्या भनेको आन्तरिक बजार हो । यदि अमेरिकी सामानहरू महँगो भएमा चिनियाँहरू सामान्य रूपमा चिनियाँ सामानतर्फ फर्कने छन् । चीनको अर्थतन्त्र अहिले मुद्रास्फीति नभएको अवस्थाबाट ग्रुजिरहेको छ ।
आधिकारिक विवरणहरूमा उपभोक्ता मूल्यवृद्धि सूचक मार्चमा पनि नकारात्मक देखिएको छ । चीनमा यस्तो भएको यो लगातार दोस्रो महिना हो ।
प्रतिक्रिया