अझै नियन्त्रणमा आएन लस एन्जलसको आगो

अझै नियन्त्रणमा आएन लस एन्जलसको आगो


काठमाण्डु-अमेरिकी राज्य क्यालिफोर्नियाको प्रमुख सहर लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले अहिलेसम्म हजारौं एकड जमिन जलेर नष्ट भएको छ । लाखौं प्रयास र साधनस्रोत प्रयोग गर्दा समेत आगो नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय बनेको वैज्ञानिकहरूले बताएका छन् ।

लस एन्जलसको आगलागी किन यति धेरै फैलियो र अहिलेसम्म नियन्त्रण हुन नसकेको कारण वैज्ञानिकहरूले खुलासा गरेका छन् ।

युनिभर्सिटी अफ क्यालिफोर्निया–सान डिएगोका जलविज्ञानी मिङ प्यानले दक्षिणी क्यालिफोर्निया अत्यन्तै सुख्खा भएको र यसका कारण लस एन्जलसको जंगलमा लागेको आगोले भयावह रूप लिएको बताएका छन् ।

रिपोर्टका अनुसार जनवरीको सुरुमा दक्षिणी क्यालिफोर्नियामा माटोको आद्र्रता स्तर २ प्रतिशतभन्दा न्यून छ । क्यालिफोर्नियामा अक्टोबरमा वर्षाको मौसम हुन्छ । तर यस पटक वर्षा निकै कम भएको थियो । जसका कारण त्यस ठाउँको प्राकृतिक जलस्रोतहरू सुक्दै गएका छन् ।

हावा तातो र सुख्खा हुँदा बिरुवा र माटोको पानी पनि वाष्पीकरण भएका कारण सुकेको वैज्ञानिकहरूले बताएका छन् । जसका कारण जंगल सुकेको र आगो तीव्र गतिमा फैलिएको हो ।