काठमाण्डु-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गोल्ड कार्ड भिसा’ कार्यक्रम आधिकारिक रूपमा सुरु हुनुभन्दा अघि नै ‘सुपरहिट’ भएको छ । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले एकै दिनमा १ हजार गोल्ड कार्डहरू बिक्री भएको दाबी गरेका छन् ।
एउटा गोल्ड कार्डको मूल्य ५० लाख डलर छ । अर्थात् एकै दिनमा ५ अर्ब डलर बराबरको कार्डहरू बिक्री भएका छन् ।
हावर्डले मानिसहरू गोल्ड कार्ड लिन लाइनमा बसिरहेको पनि बताएका छन् । यद्यपि यो कार्यक्रम आधिकारिक रूपमा लगभग दुई हप्तापछि सुरु हुने छ । एलोन मस्क हाल यसका लागि सफ्टवेयरको विकास गर्दै छन् ।
ट्रम्प सरकारले १० लाख गोल्ड कार्डको लक्ष्यका साथ काम गरिरहेको छ । ट्रम्प प्रशासनले विश्वभर ३.७ करोड मानिसले यो कार्ड किन्ने बताएको छ । अमेरिकी सरकारले यस कार्यक्रमबाट उठेको रकम देशको ऋण घटाउन प्रयोग गर्ने बताएको छ ।
गोल्ड कार्ड किन्नेहरूले अमेरिकामा अनिश्चित कालसम्म बस्ने अधिकार पाउने छन् । कार्ड धारकहरू कानुन पालना गर्ने व्यक्तिहरू हुन् वा होइनन् भनेर पनि अनुसन्धान गरिने छ ।
यदि कार्ड खरिद गर्ने व्यक्ति गैरकानुनी गतिविधिमा संलग्न छ भने अमेरिकाले यो कार्ड सदाको लागि रद्द गर्न सक्छ ।
गोल्ड भिसा कार्डले नागरिकहरूलाई ग्रीन कार्ड जस्तै विशेष अधिकार दिने अमेरिकी प्रशासनको भनाइ छ । यो नयाँ भिसा कार्यक्रमले देशमा लगानी बढाउने छ । साथै ईबी–५ सम्बन्धी ठगी रोकिने र नोकरशाहीलाई नियन्त्रण गरिने छ ।
ट्रम्पले ‘गोल्ड कार्ड’ लाई ईबी–५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताएका छन् । हाल ईबी–५ भिसा कार्यक्रम अमेरिकी नागरिकताको लागि सबैभन्दा सजिलो बाटो हो । यसका लागि मानिसहरूले १० लाख डलर तिर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया