राष्ट्रपतीय दौडबाट किन पछि हटे जो बाइडन ?

राष्ट्रपतीय दौडबाट किन पछि हटे जो बाइडन ?


काठमाण्डु–संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले राष्ट्रपतिको चुनावी दौडबाट बाहिरिएका छन् ।

उनले आफ्नो ठाउँमा डेमोक्रमेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।

८१ वर्षीय बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो पार्टी र देशको हितका लागि आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताए ।

उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ठूलो सम्मानको रूपमा लिएको र जनवरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्रेटहरूबाटै उनको आलोचना भएको थियो । उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छन् । हाल ५९ वर्षकी ह्यारिसले आफूले ट्रम्प विरुद्ध देशलाई एकताबद्ध गर्ने पनि बताइन् ।

‘निर्वाचनका लागि हामीसँग १०७ दिन बाँकी छ,“ उनले भनिन्, ‘हामी सँगै लड्छौँ र सँगसँगै जित्छौँ पनि ।’ पार्टीका महत्वपूर्ण व्यक्तित्वहरूले उनको मनोनयनलाई स्वीकार गरे पनि पार्टीबाट भने उनी आधिकारिक रूपमा उम्मेदवार बनिसकेकी छैनन् । अगस्टमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ ।

डेमेक्रेटिक पार्टीको प्रतिस्पर्धी ठानिएको रिपब्लिकनका तर्फबाट भने पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार चयन भइसकेका छन् ।

पेन्सिल्भेनिआको एक चुनावी सभामा गोली प्रहारबाट उनको हत्या प्रयास भएको पाँच दिन पछि रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको थियो ।