काठमाण्डु-अमेरिकामा आगामी मंगलवार अर्थात् नोभेम्बर ५ मा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदैछ ।
निर्वाचन मैदानमा यस पटक पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः उम्मेदवार छन् भने उपराष्ट्रपति कमला ह्यारिस उनका प्रतिद्वन्द्वी उम्मेदवार छन् । यसअघि सन् २०२० मा झैँ जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए । तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउलान् कि पूर्वराष्ट्रपति ट्रम्प पुनः सत्तामा फर्किएलान्? अमेरिकी राजनीतिमा यो अहिले चासोको मुख्य विषय बनेको छ ।
निर्वाचन पूर्व भएका मत सर्वेक्षणअनुसार कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि देख्न थालिएकी छन् । उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन् । तर सर्वेक्षणहरूको औसत मान हेरेर को अगाडि छ भन्न सकिने स्थिति छैन ।
निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखिएको थियो । अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन् । तर सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको संख्या तुलनात्मक रूपमा स्थिर छ ।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए । विगत केही दिनयता प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ ।
यस्ता सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियताको झल्को दिने भए पनि तिनकै आधारमा निर्वाचनको परिणाम यस्तै हुन्न भन्न चाहिँ सकिँदैन । किनभने संयुक्त राज्य अमेरिकामा ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचक मण्डल’मा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्छ ।
यो प्रणालीअन्तर्गत राज्यहरूलाई त्यहाँको जनसंख्याका आधारमा निश्चित संख्यामा मतभार अर्थात् ‘इलेक्टोरल कलेज मत’ दिइएको हुन्छ । देशभरिका सबै राज्यसँग कुल ५३८ इलेक्टोरल कलेज मत हुन्छ । निर्वाचन जित्न २७० इलेक्टोरल कलेज मत पाउनैपर्छ । सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन् । अमेरिकामा ५० राज्य छन् ।
अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन् । केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ । ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन । ती राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ (संग्रामभूमि राज्य) अथवा ‘स्विङ स्टेट’ भन्ने गरिन्छ ।
यो निर्वाचनमा सात राज्यमा चर्को प्रतिस्पर्धा हुने देखिन्छ । ‘स्विङ स्टेट’ भनिने ती राज्यमा दुई उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गरेको मतसर्वेक्षणहरूमा देखिँदैन ।
कमला ह्यारिस प्रतिस्पर्धामा आएदेखिको प्रवृत्ति हेर्दा राज्यहरूमा देखा परेका भिन्नताबारे बुझ्न सकिन्छ । तर राष्ट्रिय मतसर्वेक्षणभन्दा राज्यस्तरीय सर्वेक्षणको संख्या कम छ ।
मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिनमा ह्यारिस अगाडि थिइन् । तर प्रतिस्पर्धा निकै कसिलो बन्दै गएको देखिन्छ । अहिले पेन्सिल्भेनिआमा ट्रम्पले झिनो अग्रता पाएका छन् ।
सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि यी तीनवटै राज्यलाई डेमाक्रेटिक पार्टीको गढ मानिन्थ्यो । सन् २०२० मा जो बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरे । यसपालि ह्यारिसले ती राज्यलाई आफ्नो पक्षमा पार्न सकिन् भने उनलाई चुनाव जित्न सजिलो हुने छ ।
कडा प्रतिस्पर्धा हुने सात राज्यमा कमला ह्यारिस र डोनल्ड ट्रम्प अहिले दुई प्रतिशत मतले मात्र अगाडिपछाडि भएको देखिन्छ । यस्तो परिस्थितिमा निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्न सकिँदैन ।
प्रतिक्रिया