अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ‘निर्णायक चाबी’ राखेका यी सात राज्यहरू

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ‘निर्णायक चाबी’ राखेका यी सात राज्यहरू


काठमाण्डु-यस पटक अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनमा लगभग २४ करोड व्यक्ति मतदान गर्न योग्य छन् । तर सम्भवतः तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो संख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने छ ।

औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्रेट उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ ।

तीमध्ये एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन् ।

अब निर्वाचनका अन्तिम महिनाहरूमा ती राज्यका अनिर्णीत मतदाताको मन जित्न दुवै पक्ष जोडतोडले लागिरहेका छन् ।

सन् २०२० मा डेमाक्रेट्सहरूले ‘ग्र्यान्ड क्यान्यन स्टेट’ भनिने एरिजोना राज्यको समर्थनबाट राष्ट्रपतिमा निर्वाचन जिते । यस राज्यले उक्त पार्टीको उम्मेदवारलाई सन् १९९० को चुनावपछि पहिलो पटक थोरै मतान्तरले जिताएको थियो ।

ट्रम्पले आफूले चुनाव जितेको खण्डमा इतिहासकै ठूलो ‘डीपोर्टेशन अपरेशन’ (आप्रवासीहरूलाई घर फर्काउने अभियान) चलाउने प्रतिबद्धता जनाएका छन् ।

रिपब्लिकन्सले गर्भपतनमाथिको १६० वर्ष पुरानो प्रतिबन्धलाई पुनः लागु गर्ने कोसिस गरेपछि एरिजोनामा यस विषयक बहस पनि तातेको छ ।

अमेरिकी सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला गर्दै महिलाहरूलाई गर्भपतन गराउन पाउने संवैधानिक अधिकार दिएपछि सन् २०२० यता यो मुद्दाले देशभर विस्फोटक रूप लिएको छ ।

जोर्जा राज्यको एकतिहाइ जनसंख्या अफ्रिकन–अमेरिकन मूलको छ भने अश्वेत बासिन्दाको देशकै ठूलो अनुपात पनि यहीँ छ । यही जनसंख्याले यस राज्यमा सन् २०२० को निर्वाचनलाई बाइडनको पक्षमा उल्ट्याइदिन मूल भूमिका खेलेको विश्वास गरिन्छ ।

अमेरिकाका अश्वेत बासिन्दाहरू बाइडनप्रति निराश भएको विवरणहरू आएका भए पनि ह्यारिसको प्रचारमा लागेकाहरूले यस क्षेत्रमा स्थितिलाई सम्हाल्न सकिने आशा गरेका छन् ।

बाइडनले आफ्नो मध्यपूर्वसम्बन्धी नीतिलाई लिएर मिशिगन राज्यमा आलोचनाको सामना गरिराखेका छन् ।

पछिल्ला दुई निर्वाचनमा यो ‘ग्रेट लेक्स स्टेट’ले विजेता उम्मेदवारलाई चुनेको छ । सन् २०२० मा बाइडनलाई समर्थन गरेको भए पनि अहिले भने यो राज्य गाजा युद्धमा बाइडनले इजरेललाई दिएको सहयोगबारे देशभर फैलिएको असन्तुष्टिको पर्याय बनेको छ ।

उल्लेख्य कुरा के हो भने देशकै ठूलो अरब–अमेरिकनहरूको हिस्सा मिशिगनमा बसोबास गर्छ । यो जनसंख्याको बाइडनप्रतिको समर्थन खतरामा परेको छ ।

नभाडा राज्यले पछिल्लो निर्वाचनमा डेमोक्रेटलाई मत दिएको थियो तर कोभिडपछिको सुधार यस राज्यमा अन्तभन्दा सुस्त छ ।

सर्वेक्षणहरूले एक पटक यस राज्यमा बाइडनभन्दा ट्रम्प निकै अघि रहेको सङ्केत गरे पनि ह्यारिसको उम्मेदवारीसँगै उक्त अग्रता घटेको छ ।

डेमाक्रेटहरूले युवा र विविधतायुक्त मतदातालाई आकर्षित गर्न सक्ने उम्मेदवारका कारण यो दूरी अझै घट्न सक्ने आशा गरेका छन् ।

नवीन सरकारी आँकडाका अनुसार क्यालिफोर्निया र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी)पछि नभाडामा सबैभन्दा उच्च ५.१ प्रतिशतको बेरोजगारी दर छ ।

सर्वेक्षणहरूले नोर्थ क्यारलाइना राज्यमा डेमाक्रटिक पार्टीका तर्फबाट ह्यारिस उम्मेदवार भएयता दुई उम्मेदवारबीचको दूरी निकै झिनो बनेको देखाएका छन् । केही विश्लेषकहरूले यहाँ दुवै उम्मेदवारको जितको सम्भावना बराबरी रहेको स्थितिका रूपमा व्याख्या गरेका छन् ।

जुलाईमा भएको गोली प्रहारको घटनापछि ट्रम्पले पहिलो निर्वाचन कार्यक्रम यहाँ गर्ने निर्णय गरेकाले पनि सायद यसको महत्व दर्शाउँछ ।

ट्रम्पले सन् २०२० को निर्वाचनमा यस राज्यमा केवल ७० हजारभन्दा केही बढी मतले जित हासिल गरेका थिए । त्यसैले यस पटक जित्न सकिनेबारे डेमोक्रेटहरूको आशा बढेको छ ।

पेन्सिल्भेनिया राज्यमा दुवै पक्षले जोडतोडका साथ आआफ्ना अभियान सञ्चालन गरिरहेका छन् । यो त्यही राज्य हो, जहाँ ट्रम्प हत्या प्रयासबाट बचेका थिए ।

सन् २०२० मा बाइडनलाई समर्थन गरेर यो राज्यले आफू निर्णायक भएको प्रमाणित गरिसकेको छ । श्रमजीवीहरूको सहर स्क्रान्टनसँग बाइडनको गहिरो भावनात्मक सम्बन्ध थियो किनकि उनी त्यहीँ हुर्केबढेका थिए ।

अन्य धेरै ठाउँजस्तै यहाँ पनि अर्थव्यवस्था मूल मुद्दाका रूपमा रहँदै आएको छ ।

सन् २०१६ र २०२० का दुवै निर्वाचनमा विस्कन्सिन राज्यले पनि जित हासिल गर्ने उम्मेदवारलाई नै चयन गरेको थियो ।