उत्तर प्रदेशको एउटा अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

उत्तर प्रदेशको एउटा अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु


काठमाण्डु-भारतको उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । आगलागीमा १६ जना शिशु घाइते भएका छन् ।

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो । एनआईसीयू भित्रको युनिटमा आगो लागेको थियो । विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । दमकलसहितको टोली समयमै आइपुगेकाले धेरै बालबालिकालाई सुरक्षित उद्धार गरिएको अस्पतालले जनाएको छ ।

स्पेनको हेरचाह गृहमा पनि आगलागी

स्पेनको एक हेरचाह गृहमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । उत्तर–पूर्वी स्पेनको जरागोजा नजिकैको एक हेरचाह गृहमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको र अन्य केही मानिस घाइते भएका आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भिल्लाफ्रान्का डे एब्रो शहरमा आगलागी भएको र स्थानीय अधिकारीहरूले हेरचाह गृहमा ८२ जना मानिस बस्दै आएका बताएका छन् ।

स्थानीय रिपोर्टहरूका अनुसार यो केन्द्र १६ वर्षअघि सेवानिवृत्ति गृहका रूपमा खोलिएको थियो र पछि डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने समस्या र मानसिक स्वास्थ्य समस्या भएकाहरूको हेरचाहमा विशेष बनाइएको थियो ।