भ्लादिमिर पुटिनसंगको वार्ताका लागी किम जङ-अन रुसमा

भ्लादिमिर पुटिनसंगको वार्ताका लागी किम जङ-अन रुसमा


भ्लादिभोस्तक- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघिनै घोषणा गरिसकेको छ ।

यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले पत्रकारलाई बताएका छन् । तर उनले दुई देशको संयुक्त वक्तव्य वा कुनै सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेको बताए ।

गत फेबु्रअरीका भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो । किमले बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लाग्नुभएको उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो ।

किमलाई रुसी सीमा शहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जानकारी दिएको छ । देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण सङ्कटमा परेका किमले गत वर्षदेखि कुटनीतिक गतिविधिलाई तिब्रता दिएका छन् । रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता गरेका थिए । नेता किमका हजुरबुबा एवं उत्तर कोरियाका संस्थापक किम इल–सुङ र बुबा किम जोङ–इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गरेका थिए । रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिष्टहरुले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए ।

सोभियत युनियनले उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध बढाउन थालेको भन्दै उत्तर कोरियालाई प्रदान गर्ने वार्षिक सहायतामा सन् १९८० को दशकबाटै कटौती गर्न थालेको थियो । तर सन् १९९० को दशकमा सोभियत सङ्घको बिघटनपछि यस्तो सहायता लगभग बन्द भएको थियो । विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियाका धेरै नागरिक रुसका पूर्वी शहरहरुमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

रुसको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएलगत्तै राष्ट्रपति पुटिनले दुबै देशबीचको सम्बन्धलाई सामान्यीकरण गर्न तत्कालीन उत्तर कोरियाली नेता किम जोङ–इलसँग तीन पटक भेट गरेका थिए । उनीहरुबीचको पहिलो भेट सन् २००० मा उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको थियो । राष्ट्रपति पुटिन उत्तर कोरिया भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति पनि भएका थिए । रुसी सहायता रोकिएपछि एक्लो भएको उत्तर कोरियालाई चीनले मद्दत गर्न थालेको थियो । पछिल्ला वर्षहरुमा उत्तर कोरियाको सबैभन्दा ठूलो दाता, व्यापारिक साझेदार र इन्धनको मुख्य आपूर्तिकर्ता चीन नै भएको छ । विश्लेषकहरुले किमले बेइजिङको बढ्दो प्रभावलाई सन्तुलनमा ल्याउने प्रयास थालेका थिए ।

सियोलस्थित उत्तर कोरियाली अध्ययन केन्द्रका विश्लेषक जियोङ योङ–ताईका अनुसार उत्तर कोरियाको जुछे सिद्धान्तमा नै एउटा शक्तिसँग मात्र निर्भर हुनु हुँदैन भनेकाले उत्तर कोरियाले अरु देशसँग सम्बन्ध बढाउनु स्वाभाविक हो । नेता किमका बुबा किम जोङ–इलले सन् २०११ मा रुसी राष्ट्रपति डिमित्री मेडभेडेभसँगको भेटवार्तामा रुस र उत्तर कोरियाबीचको सम्बन्ध सुमधुर हुने बताएका थिए । नेता किम जोङ–इलले रुसी राष्ट्रपतिलाई रुसी सहयोग प्राप्त गरे आणविक परीक्षण बन्द गर्ने घोषणा गरेका थिए ।

तर नेता किमको नेतृत्वले मुलुककै शक्तिशाली आणविक परीक्षण गर्नुका साथै अमेरिकी भूमिमा समेत मार हान्न सक्ने उच्च क्षमताका क्षेप्यास्त्र परीक्षण गरेका छन् ।यसपटक रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वी क्षेत्र भ्लादिभोस्तक आउँदै छन् । सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गरेका छन् ।–एएफपी