हनोइ – भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ ।
मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एकजना अझै बेपत्ता रहेको समितिले जनाएको छ । सो बाढीले करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुबाएको छ । त्यसैगरी करिब एक लाख ६३ हजार थान पशुपक्षी बगाएको छ । समितिका अनुसार बाढीबाट करिब १२८ किलोमिटर सडकका साथै सिंचाई प्रणालीमा पनि क्षति पुगेको छ ।
भियतनाममा यसवर्ष आएको बाढी, पहिरो, भारी वर्षा तथा आँधीका कारण कम्तीमा एकसय ८९ जनाको ज्यान गइसकेको छ । भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार यस वर्षको ११ महिनामा प्राकृतिक प्रकोपका कारण करिब ३९ करोड १३ लाख अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । सिन्ह्वा
प्रतिक्रिया