ड्यानिएल गार्सिया मार्को – इभा ओन्टिभेरोस
एजेन्सी – दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा केही दिनयता भएका नाटकीय घटनाहरूले सेनालाई केन्द्रमा ल्याइदिएको छ। अमेरिकाले भेनेजुएलाका विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि तनाव बढेको छ। त्यहाँका सत्तासीन राष्ट्रपति निकोलास मडुरोले डोनल्ड ट्रम्पले भेनेजुएलामा सत्ता हत्याउने प्रयत्न गरेको गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
भेनेजुएलामा विगत २५ वर्षमा तीन पटक सत्ता खोस्ने प्रयासहरू भइसकेका छन्। समकालीन इतिहासमा सबैभन्दा नराम्रो आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चिन्ता बढ्दै गर्दा सबैको दृष्टि अहिले भेनेजुएलाको सेनामा परेको छ। प्रश्न उठ्न थालेको छ ? सेनाले मडुरोको सरकारप्रति निष्ठा राख्ला कि विपक्षी नेता गुएइदोलाई समर्थन गर्लारु मडुरो आफू नै देशको वैधानिक नेता भएको दाबी गर्दैछन्। तर उनको भविष्य अनिश्चित देखिएको छ।
हुन त उनका रक्षामन्त्री पाद्रिनो लोपेजले सेनाको भूमिकाबारे उठेको प्रश्न आधारहीन भएको बताएका छन् र सेनाको समर्थन आफूतिर तान्न खोज्ने विपक्षी नेता गुएइदोको आह्वानको भर्त्सना गरेका छन्। लोपेजले ट्विटरमा लेखेका छन्, हाम्रो देशको सेनाले न त नराम्रो नियत भएका शक्तिहरूले थोपरेको राष्ट्रपतिलाई स्वीकार्छ, न त कानुनविपरीत स्वघोषितलाई स्वीकार्छ।
भेनेजुएलाको संविधानले सेना राजनीतिमा संलग्न हुनुहुन्न भनेपनि रक्षामन्त्री लोपेज आफ्नो वक्तव्यमा रहने विशेष वाक्यांशका लागि प्रख्यात छन्। तीनमा लेखिएको हुन्छस् चाभेज जीवितै छन्, मातृभूमि अघि बढ्दै छ। स्वतन्त्र र समाजवादी मातृभूमि। पाद्रिनो लोपेज सेनाको कर्नेल थिए र उनी सन् २००२ को विफल सत्ता हत्याउने प्रपञ्चका बेला ह्युगो चाभेज सरकारलाई समर्थन गरे।
त्यसपछि उनी संयुक्त रक्षाप्रमुख भए र भेनेजुएलाका सबै सैन्य फौजहरूका प्रमुख बने। उनी सन् २०१४ मा मडुरोद्वारा रक्षामन्त्री बनाइए। उनको व्यावसायिक जीवन अन्य उच्च सैनिक अधिकारीहरूको भन्दा फरक छैन। उनको निष्ठा कतातिर ढल्किन्छ भन्ने कुराले भेनेजुएलाका भावी नेताको भविष्य निर्धारण गर्नेछ।
सेना कता ढल्किएला त ?
सेनालाई के के सेवा सुविधा वा प्रलोभनले आफ्नो झुकाव बदल्न प्रेरित गर्ला ? सन् १९९९ को संविधानलाई संशोधन गरेका भूतपूर्व स्वर्गीय राष्ट्रपति ह्युगो चाभेजले सेनालाई अझै शक्तिशाली बनाइदिएका थिए। उनले सेनालाई राजनीतिक भूमिका पनि दिएका थिए। त्यसैले पनि सेनाले लिने भावी कदमप्रति धेरैको चासो बढेको हो।
चर्को मुद्रास्फीति, ऊर्जा सङ्कट तथा खाद्यान्नको चर्को अभाव जस्ता समस्याले आक्रान्त भेनेजुएलामा चामल, कफी, ट्वाइलेट पेपर, स्यानिटरी टावेल र न्यापी जस्ता अत्यावश्यक उपभोग्य सामानको आपूर्ति व्यवस्थापनको जिम्मेवारी पनि सेनाकै जिम्मामा छ।
खाद्यान्न अभावको विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका व्यक्तिहरूलाई पनि सैन्य अदालतले सुनुवाइ गर्ने गरेको छ। त्यो कदमको नागरिक अधिकारवादी गैरसरकारी संस्थाहरूले विरोध गर्ने गरेका छन्। हाम्रो समाजमा सेना अहिले जताजतै हाबी भएको देख्न सकिन्छ, त्यस्तो कहिले पनि थिएन, काराकासस्थित सिमोन बोलिभार विश्वविद्यायलका सुरक्षाविज्ञले भने।
असन्तुष्टि कस्तो छ ?
राष्ट्रपति मडुरोले सेना र राजनीतिबीचको सम्बन्धलाई अझै अन्तर्सम्बन्धित बनाइदिए। पूर्वसैनिक क्लिभर अल्कालाले भने, सैन्य फौजहरू अहिलेजस्तो दैनिक जीवनमा कहिल्यै पनि पनि लागेका थिएनन्। उनी पहिले चाभेज समर्थक थिए। तर उनले मडुरोलाई समर्थन गरेनन्। मडुरो पूरै सेनामा निर्भर छन्। उनले राजनीतिज्ञ र नागरिक समाजको समर्थन गुमाएका छन्। उनी जहिले पनि सल्लाहको लागि सेनाकहाँ पुग्छन्।
सेनाको भूमिका कस्तो होला ?
सेनाका उच्च अधिकारी मडुरोको सत्तासँग नजिक छन्। तर तल्लो दर्जाका सैनिकहरूको कथा अर्कै छ। उनीहरूले सर्वसाधारणले जस्तै भेनेजुएलाको आर्थिक सङ्कटको मार प्रत्यक्ष रूपमा भोगेका छन्। गत साताको प्रदर्शनका बेला पनि केही सैनिकहरूले प्रदर्शनकारीलाई सहयोग गरेका विवरणहरू सार्वजनिक भएका छन्। हालैका दिनहरूमा सैन्य फौजका १०० भन्दा बढी सदस्यहरूलाई देशद्रोह, विद्रोह, लुटपाट गरेको वा सेनाबाट भागेको आरोपका थुनामा राखिएको छ।
अल्कालाका विचारमा सैन्य फौजभित्र पनि अनिश्चितताको वातावरण छ, त्यो बढिरहेको छ। गत वर्ष सत्ता हत्याउने आरोप लगाइएका तीन जना सैनिक अधिकारी कोलम्बिया गएर त्यहाँ शरण लिइसकेका छन्। तर अहिलेलाई भेनेजुएलाका सैन्य फौजले मडुरोलाई समर्थन गरिरहेका छन्। मडुरोले बफादारीको सम्मान गर्न करिब १७ सय जनाको बढुवा गरिसकेका छन्। अहिलेको सङ्कटमा तिनको भूमिका महत्त्वपूर्ण हुनेछ। बीबीसी नेपाली विश्व सेवा
प्रतिक्रिया