चीनको ६ दिने औपचारिक भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता

चीनको ६ दिने औपचारिक भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता


काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण सकेर आज (सोमबार) स्वदेश फर्किएका छन्।

उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौं उत्रेका हुन् । उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महराले स्वागत गरे । उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीनको छेन्दु गएका थिए।

उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७औं पश्चिम चीन अन्तर्रा्ष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ सम्बद्ध मुलुकहरुको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गरेका थिए। संबोधनको क्रममा उनले नेपालमा लगानीका लागि चिनियाँ  सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीहरुलाई अपिल समेत गरेका थिए।

भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङहुवाले शिष्टाचार भेट गरेका थिए। उपराष्ट्रपतिले असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरिरहेको बताएका थिए। उनले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै चीनलाई लगानी तथा सहकार्यका लागि आग्रह गरेका थिए।