काठमाण्डु- देशभरका २२ लाख बालबालिकालाई शनिबार भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । भिटामिन ए र जुकाको औषधि आइतबार पनि खुवाइने छ ।
बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासमा पनि यसले प्रभाव पार्ने हुन्छ । बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन ए र जुकाको औषधि खुवाइने गरिन्छ ।
जुका सरसफाइको अभावले हुने गर्दछ । यसले आन्द्रामा घाउ बनाएर त्यसबाट पोषक तत्त्व सोस्ने गर्छ । बालबालिकालाई बिस्तारै कुपोषित बनाउँदै जान्छ ।
कर्बोहाइट्रेड, फ्याट (चिल्लो), प्रोट्रिनलाई बढी खाइए पनि सूक्ष्मपोषक तत्त्व कम मात्रामा खाइने हुँदा भिटामिन ‘ए’ को कमी हुने स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल बताउँछन् ।
‘बालकालिकामा भिटामिन ए अभाव भयो भने दृष्टिमा असर पर्न सक्छ । रतन्धो, आँखामा घाउ भएर दृष्टिविहीन हुने समस्या पहिला धेरै देखिन्थ्यो । यसलाई न्यूनीकरण गर्न पाँच वर्षमुनिका बालबालबलिकालाई वर्षको दुई पटक वैशाख र कात्तिकमा जुकाको औषधि र भिटामिन ए खुवाइने गरिन्छ ।
भिटामिन ए र जुकाको औषधि खुवाएसँगै बालबालिकाको स्वास्थ्य पोषण पनि परीक्षण गरिन्छ ।
स्वास्थ्य सेवा विभागका अनुसार यस पटक राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ ।
२०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ए कार्यक्रम २०५९ देखि देशभरि नै लागु गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।
प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।
आँखाको देख्ने शक्तिलाई सधैँ स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका सङ्क्रामक रोगहरूबाट बचाइराख्न भिटामिन ए आवश्यक पर्दछ । भिटामिन एको कमीले गर्दा नेपालमा प्रतिदिन एक जना बालबालिका अन्धो हुने गरेको सरकारी तथ्याङ्क छ ।
प्रतिक्रिया