पाल्पा – तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।
पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले पराजित गर्यो । नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो । उपाधिसँगै पुलिसले रु एक लाख र उपविजेता लुम्बिनीले ५० हजार नगद प्राप्त गरेका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए ।
प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताएका छन् । उनले भने, ‘रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास गरी पर्यटन प्रर्वद्धन गर्न आवश्यक छ ।’
सो अवसरमा पूर्वगभर्नर नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्यलगायतले जिल्लाका दुई राष्ट्रिय खेलाडीलाई सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया