भिभिआइपीको सवारीले काठमाडौंका सडक दुईतर्फी बन्द, सर्वसाधारणलाई सास्ती

भिभिआइपीको सवारीले काठमाडौंका सडक दुईतर्फी बन्द, सर्वसाधारणलाई सास्ती


काठमाडौं – एसिया प्रशान्त शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका विशिष्ट पाहुनाका कारण काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ ।

सम्मेलनमा सहभागी हुन म्यानमारकी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइसकेका छन् भने अन्य देशका विशिष्ट पाहुना आउने क्रम पनि शुरु भएको छ । विशिष्ट व्यक्तिको सवारीका कारण काठमाडौंका केही ठाउँमा सडकहरु दुईतर्फी रुपमै बन्द भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अबको केही समयसम्म सोल्टीमोड–कालिमाटी–टेकु–त्रिपुरेश्वर– नागस्थान–महाँकाल–रत्नपार्क–पुरानो बसपार्क सडकखण्ड दुईतर्फी रुपमै बन्द हुनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । चार दिने सम्मेलनमा सहभागी हुन नेपाल आइपुगेका यी दुई भिभिआइपी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ओर्लिनु पहिले नै काठमाडौं उपत्यकाका सवारी चालक र यात्रुले भने सास्ती पाउन थालिसकेका थिए।

नेपाल प्रहरीको ट्राफिक महाशाखाले केही दिन पहिले नै आजदेखि चार दिन जोर बिजोर नम्बर प्लेटका सवारी साधन मात्र गुडाउन पाउने भन्ने सूचना नै जारी गरेको थियो। यसले यात्रुमा मनोवैज्ञानिक असर पुगिसकेको थियो।

आफ्नै देशको आन्तरिक मामिलाका कारण ’असुरक्षित’ ठानिएका यी दुई भिभिआइपी आउँदा भने काठमाडौंमा उड्नेदेखि हिँड्नेसम्मलाई एक घण्टाभन्दा बढी सास्ती भयो। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आधा घण्टा बढी नियमित उडान प्रभावित भए। अन्तर्रा्ष्ट्रिय उडान र अवतरण पनि भिभिआइपीको सुरक्षाका कारण स्थगित गर्नुपरेको विमानस्थल स्रोतले बतायो।