वाइडबडी खरिदबारे सात दिनमा राय पेस गर्न संसदीय समितिको निर्देशन

वाइडबडी खरिदबारे सात दिनमा राय पेस गर्न संसदीय समितिको निर्देशन


काठमाडौं –प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक खरिद अनुगमनको कार्यालयले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन अनुसार भएनभएको रायसहित ठोस प्रतिवेदन बुझाउन निर्देशन दिएकाे छ ।

समितिको बुधबार बसेको बैठकमा सोधपुछ गर्न सार्वजनिक खरिद कार्यालयका सचिव मधु रेग्मीलाई बोलाएको थियो । बैठकले समितिलाई रायसहितको प्रतिवेदन पेश गर्न सात दिनको समसीमासहितको निर्देशन दिएको हो ।

बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले वाइडबडी खरिदबारे मिडियामा आएको बाहेक कार्यलयलाई केही जानकारी नभएको बताए ।उनले समितिले दिएको निर्देशनका आधारमा छानविन गर्न सक्ने भन्दै छानविनपछि मात्रै विमान खरिद प्रकरणबारे भन्न सक्ने जानकारी दिए ।

‘यो विषयमा निगमले हामीसँग सहकार्य गरेको छैन, त्यसैले हामीले विस्तृत रुपमा बुझ्न पाएका छैनौँ’, रेग्मीले भने । यस्तै कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद ऐनमा कुनै पनि बस्तु खरिद गर्दा ब्रान्ड वा क्लाइन्ट्बाटै किन्न नहुने भए पनि निगमले किन एयरबस कम्पनी नै रोज्यो भन्नेमा आफूहरुलाई जानकारी नभएको बताए ।

तर सामान किन्दा उत्पादकसँगबाट मात्र नभई एजेन्टबाट पनि किन्न सकिने भएकाले निगमले एजेन्टबाट किन्दा गलत नभएको उनले बताए । सांसद हृदयश त्रिपाठी, विशाल भट्टराईलगायतले वाइडबडी खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग गर्नुपर्ने बताएका थिए ।