वाइडबडी जहाज प्रकरण : दुई जना सचिवलाई निलम्बन, मन्त्री अधिकारीलाई कारबाही !

वाइडबडी जहाज प्रकरण : दुई जना सचिवलाई निलम्बन, मन्त्री अधिकारीलाई कारबाही !


काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी प्रकरणमा बहालवाला दुई सचिवलाई निलम्बन गर्न संसदीय उपसमितिले सिफारिस गरेको छ ।

उपसमितिले बुधबार सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाउँदै तत्कालीन सचिव प्रेमकुमार राई र शंकरप्रसाद अधिकारी, हालका पर्यटन सचिव कृष्णप्रसाद देवकोटा तथा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई तत्काल निलम्बन गरी भ्रष्टाचार अभियोगमा कारबाही थाल्न सिफारिस गरेको हो।

उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई समेत कारवाही गर्न सिफारिस गरेको छ । संसदीय समितिमै झुट बोलेको र जिम्मेवारीबाट टाढा बसेका कारण वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो हुनसक्ने उपसमितिको ठहर छ। पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई समेत कारवाही गर्न सिफारिस गरिएको छ । यस्तै उपसमितिले तत्कालीन पर्यटन मन्त्रीद्वय जिवनबहादुर शाही र जितेन्द्र देवले नैतिक जिम्मेवारी नलिएका कारण कारवाहीको सिफारिस गरेको छ ।

उपसमितिले तयार पारेको प्रतिवदेनमा निगमले सार्वजनिक खरिद ऐन लगायत अन्य विधि र प्रक्रिया मिचेर वाइडबडी खरिदमा ४ अर्बभन्दा बढी अनियमितता भएको निष्कर्ष निकालिएको छ।

समितिका सदस्य राजन केसीको संयोजकत्वमा गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रकम हिनामिना गरेको ठहर गरेको हो। वाइडबडी अनियमितताबारे छानबिन गर्न लेखा समितिले केसीको गत मंसिर २६ गते ७ सदस्यीय उपसमिति गठन गरेको थियो।