७ औटै प्रदेशमा वाटर क्यानन’ राख्दै प्रहरी, प्रदर्शन नियन्त्रणमा सहज हुने दाबी

७ औटै प्रदेशमा वाटर क्यानन’ राख्दै प्रहरी, प्रदर्शन नियन्त्रणमा सहज हुने दाबी


काठमाडौ  – भिड नियन्त्रण गर्नका लागि हालसम्म हानीकारक अश्रृ ग्याँस प्रयोग गरिँदै आएकोमा अब भने प्रहरी प्रधान कार्यालयले ‘वाटर क्यानन’ खरिद गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ७ वटा ‘वाटर क्यानन’ खरिद गर्ने प्रक्रिया थालेको हो । नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा बजेट निकासा गरी खरिद प्रक्रिया सुरु गरिएको छ। चीनको एक मल्टिनेश्नल कम्पनीबाट ‘५ वटा क्यानन २ देखि ३ महिनाभित्र आउने भएको स्रोतको भनाई छ । यसअघि प्रहरी प्रधान कार्यालयमा एउटा मात्र ‘वाटर क्यानन’ रहेको थियो । यसलाई उपत्यकामा मात्र प्रयोग गर्ने गरिन्थ्यो । अन्य स्थानमा भने लाठी चार्ज वा अश्रुग्यास हान्ने गरिएको छ ।

प्रहरीसँग पानीको फोहरा फाल्ने ‘वाटर क्यानन’ गाडीको अभावले ऐनमा भएको व्यवस्था कार्यान्वयन हुन नसकेको हो। प्रहरी प्रधान कार्यालयसँग हाल एउटा मात्रै वाटर क्यानन गाडी छ। मुख्यालयले त्यही अभाव पूरा गर्न थप ६ वटा वाटर क्यानन गाडी खरिद गर्ने तयारी गरेको छ।

२९ करोड २० लाख रुपैयाँ लागतमा खरिद गर्न लागिएको क्यानन मेसिन सबै प्रदेशमा तयारी अवस्थामा राख्ने मुख्यालयको तयारी छ। चार वटा क्यानन गाडी किन्न बोलपत्र आह्वान भइसकेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन् ।

बाँकी दुईका लागि अर्थ मन्त्रालयबाट नौ करोड १० लाख रुपैयाँ निकासा भइसकेको उनले बताए। ‘भीड नियन्त्रण गर्न क्यानन गाडी अति उपयोगी हो। हामीले चार वटा किनिसकेपछि थप खरिदका लागि प्रक्रिया अघि बढाइसक्यौं’, उनले भने। एसएसपी बल प्रयोग गर्दा बेलाबेलामा मानवअधिकारका विषयमा पनि प्रश्न उठ्दै आएकाले खरिद प्रक्रिया पूरा भएर गाडी आइपुगिसकेपछि उक्त समस्या समाधान हुने उनको भनाइ छ।

बोलपत्र आह्वान भइसकेकाले सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम दररेट राख्ने कम्पनीसँग खरिद सम्झौता गरिने उनले बताए। प्रदर्शनकारीको भीडको अवस्था हेरेर वाटर क्यानन गाडी पहिल्यै योजनाअनुसार तयारी अवस्थामा राख्न सकिए भीड नियन्त्रण गर्दा घाइतेको संख्या न्यून हुने एसएसपी क्षेत्रीको भनाइ छ।