विश्वभर पानी दिवस मनाइँदै

विश्वभर पानी दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हिमनदी संरक्षण नाराका साथ शनिबार विश्वभर विभिन्न कार्यक्रम गरेर पानी दिवस मनाइँदै छ। बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन र अत्यधिक पानीको प्रयोगजस्ता कारणले पानी सङ्कट बढिरहेको छ। यो दिवसले यस्ता समस्याबारे चेतना फैलाउने विश्वास छ।

पछिल्ला दिनमा जलवायु परिवर्तनले हिमनदी सुक्दै गएको छ। यसले मानव जीवन र प्रकृतिमा ठूलो चुनौती थपिरहेको छ। त्यसैले यो पटक पानी दिवसको नारा हिमनदी संरक्षण राखिएको छ। सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो। यसले सुरक्षित र स्वच्छ पानीको महत्वबारे जनचेतना बढाउन र व्यवस्थापनका लागि रणनीति बनाउन सहयोग गर्छ।

संसारको कुल पानीको ९७.५ प्रतिशत समुद्रमा छ। यो नुनिलो भएकाले पिउन, सिँचाइ वा विद्युत् उत्पादनमा प्रयोग गर्न सकिँदैन। पानीको सही उपयोग नहुँदा विश्वभर समस्या बढिरहेको छ। अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार एक व्यक्तिलाई वर्षमा नौ हजार घनमिटर पानी चाहिन्छ। संसारमा उपलब्ध पानीको २।५ प्रतिशत मात्र पिउन योग्य छ। मूल, खोला, नदी र हिमनदीबाट आउने पानी मानव प्रयोगका लागि उपयुक्त छ। पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा भएको पानी पनि प्रयोग गर्न सकिन्छ।

नेपालमा एक व्यक्तिले तीन हजार ६०० घनमिटर पानी उपभोग गर्न सक्ने क्षमता छ। तर, हाल यहाँ एक व्यक्तिले जम्मा तीन सय ९३।५ घनमिटर पानी मात्र प्रयोग गर्छ। संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी छ। औद्योगिक राष्ट्रको तीव्र औद्योगीकरण, जलवायु परिवर्तन र तापमान बढ्दा पानीका परम्परागत मूल सुक्दै गएका छन्। हिमनदी पनि सुक्दै छन्। विश्वका करिब एक अर्ब मानिस पानीको समस्यामा छन्।

जलवायु परिवर्तनले हरितगृह ग्याँस उत्सर्जन बढाएको छ। हिमनदी र हिमताल फुट्ने खतरा पनि बढेको छ। नदीमा मानिसको अतिक्रमण, अनियमित रूपमा भूमिगत पानी निकाल्ने काम र पानी रिचार्जमा ध्यान नदिँदा समस्या थपिएको छ। वर्षाको पानी पनि खेर गइरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुन्छ। विश्वका सात अर्बभन्दा बढी मानिसलाई २५ लिटरका दरले पानी दिने हो भने एक खर्ब ७५ अर्ब लिटर पानी चाहिन्छ।

द्रुत गतिमा बढ्दो सहरी जनसङ्ख्या, कारखाना, जलवायु परिवर्तनको अनिश्चितता, शहरी जल प्रणालीमा द्वन्द्व र प्राकृतिक प्रकोपले पानीको समस्या झन् जटिल बनाएको छ। पानी दिवसले यी विषयमा ध्यान तान्छ। तर, प्रभावकारी कार्यान्वयनमा भने कमजोरी देखिन्छ। नेपाल पानीमा धनी देश हो। तर, व्यवस्थापन कमजोर भएकाले नागरिकले पर्याप्त पानी पाएका छैनन्। उपयोग र नीतिगत व्यवस्थापन पनि प्रभावकारी छैन। यो दिवसले यस्ता कुरामा सचेत गराउन सक्छ।

सरकारले नेपालमा पानी र ऊर्जाबीचको सम्बन्धबारे जनचेतना फैलाउन, जल उपयोग नीतिमा बहस चलाउन, जल र ऊर्जा क्षेत्रका सरोकारवालालाई सक्रिय बनाउन र यी क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई एक ठाउँमा ल्याउन साताव्यापी कार्यक्रम गर्छ। नेपालका धेरै नदी हिमालबाट बग्छन्। तर, जलवायु परिवर्तनले समस्या बढाइरहेको छ। हिमनदी संरक्षणलाई प्राथमिकता दिनु जरुरी छ।