टी-२० विश्वकपमा सुपर-८ मा स्थान बनाउने चौथो टोली बन्यो वेस्ट इन्डिज

टी-२० विश्वकपमा सुपर-८ मा स्थान बनाउने चौथो टोली बन्यो वेस्ट इन्डिज


काठमाण्डु – आयोजक वेस्ट इन्डिज टी–२० विश्वकपमा सुपर ८ मा स्थान बनाउने चौँथो टोली बनेको छ । लगातार तीन खेल जित्दै वेस्ट इण्डिजले सुपर ८ मा स्थान पक्का गरेको हो ।

३ खेलबाट ३ जित हासिल गर्दै वेस्ट इन्डिजले ६ अंक बटुल्यो । बिहीबार भएको समूह सी अन्तरगतको खेलमा न्युजिल्यान्डलाई वेस्ट इण्डिजले १३ रनले पराजित गरेको हो । १ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा सर्वाधिक ४० रन जोडे । फिन एलेनले २३ बलमा २६, ड्यारेल मिचेलले १२ तथा रचिन रवीन्द्र तथा जेम्स निसमले १०–१० रन बनाए ।

खेलको अन्त्यतिर मिचेल स्यान्टनरले १२ बलमा २१ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ४ ओभरमा मात्र १९ रन खर्चेर उनले ४ विकेट हात पारे । गुणकेश मोतीले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । टोलीका लागि सेरफान रथरफोर्डले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए ।

उनले ३९ बलमा ६८ रन बनाए । यस क्रममा उनले २ चौका र ६ छक्का प्रहार गरे ।

निकोलस पुरनले १२ बलमा १७, अकिल होसेनले १७ बलमा १५, आन्द्रे रसलले ७ बलमा १४ रन तथा रोमारियो सेफर्डले १३ बलमा १३ रन जोडे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा उनले एक मेडन ओभर राख्दै मात्र १६ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, टिम साउथी र लोकी फर्गुसनले २–२ विकेट हात पारे भने जेम्स निसम र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।

सुपर ८ मा यसअघि दक्षिण अफ्रिका, भारत र अस्ट्रेलिया पुगिसकेका छन् । अब सुपर ८ का लागि चार टोलीको टुंगो लाग्न बाँकी छ ।