काठमाण्डु- आइसीसी टि-२० विश्वकप क्रिकेटको समूह चरणको आफ्ना अन्तिम दुई खेलका लागि नेपाली टोली वेस्टइण्डिज पुगेको छ । नेपाली टोलीले वेस्टइण्डिजको सेन्ट भिन्सेन्टमा अभ्यासमा जुटेको छ ।
अभ्यास खेलमा लेग स्पिनर सन्दीप लामिछाने पनि छन् । कप्तान रोहितकुमार पौडेलले सन्दीपले पछिल्लो केही महिना प्रतिस्पर्धात्मक क्रिकेट नखेले पनि लामो समयदेखि व्यवसायिक क्रिकेट खेलिरहेका कारण टिमलाई असर नगर्ने प्रि–म्याच कन्फ्रेन्समा बताएका छन् ।
अमेरिकी दुतावासले सन्दीपलाई भिसा नदिएपछि उनले विश्वकपका सुरुवाती खेल गुमाएका थिए । सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिकाबीच शनिबार बिहान नेपाली समय अनुसारसबा ५ बजे खेल हुनेछ ।
नेपाल सुपर–८ पुग्नका लागि अन्तिम दुई खेल जित्नै पर्ने दबाबमा छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासग अंक बाँड्न पुग्यो ।
यो समूहबाट छ अंकसहित दक्षिण अफ्रिका सुपर–८ मा पुगिसकेको छ । बंगलादेश पनि चार अंक सहित सुपर–८ मा स्थान बनाएको छ । नेदरल्याण्ड्सको दुई अंक तथा नेपालको एक अंक छ । एक अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया