महान्याधिवक्ता कार्यालयको सक्रियतामा सांसद सिलवालको कीर्ते प्रकरणमा पुनः अनुसन्धान हुने

महान्याधिवक्ता कार्यालयको सक्रियतामा सांसद सिलवालको कीर्ते प्रकरणमा पुनः अनुसन्धान हुने


काठमाडौं– बहुचर्चित नवराज सिलवाल प्रकरणमा फेरि अनुसन्धान हुने भएको छ । एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआईजी सिलवालविरुद्ध कीर्ते अभियोगमा महान्याधिवक्ताको कार्यलयको सक्रियतामा पुनः अनुसन्धानको तयारी भइरहेको हो ।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सिलवालले कीर्ते गरेको ठहर गर्दै काठमाडौं प्रहरीमा गत पुसमा उजुरी हालेको थियो । सोही उजुरीमा अनुसन्धान गरेपछि काठमाडौं प्रहरी परिसरले डिआईजी सिलवालको कीर्ते अनुसन्धान अभियोगको फाइल जिल्ला सरकारी वकिलको कार्यलयमा लगेको थियो । देउवाले त्यतिबेला आफूमाथि प्रतिशोध साध्न कीर्ते अभियोगमा फसाउन खोजेको सिलवालको आरोप थियो ।

स्रोतकाअनुसार अब सरकारी वकिलको कार्यलयले सिलवालमाथि लागेको कीर्ते अभियोगको अनुसन्धान पुनः गर्नुपर्ने देखिएको भन्दै उक्त फाइल अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरलाई फिर्ता पठाउने तयारी थालेको हो । उक्त मुद्धामाथि सरकारी वकिलको कार्यलयले कुनै कारवाही अगाडि बढाएको छैन् । ‘अब काठमाडौं प्रहरीलाई पुनः अनुसन्धानका लागि पठाउने तयारी छ,’ सरकारी वकिल कार्यलय निकट स्रोत भन्छ, ‘यही हालतमा यो मुद्धा अदालतमा प्रस्तुत हुँदैन् ।’

तत्कालीन समयमा नेपाल प्रहरीको महानिरिक्षकका प्रमुख दाबेदार मानिएका सिलवाललाई देउवा सरकारले महानिरिक्षक नबनाएपछि उनी अदालत गएका थिए । कासमुमा पहिलो नम्वरमा आफू रहेको भन्दैं सिलवालले आफूलाई महानिरिक्षक बनाउन भन्दैं रिट दायर गरेका थिए ।

अदातलले पूर्वडिआईजी जयबहादुर चन्दलाई महानिरिक्षक बनाउने सरकारको निर्णय अन्तरिक आदेश दिएको थियो । त्यसपछि सरकारले अर्को बाटो अपनाउँदैं प्रकाश अर्याललाई प्रहरीको महानिरिक्षक बनाएको थियो । त्यस निर्णय विरुद्ध पनि सिलवाल अदालत गएका थिए ।

त्यही क्रममा प्रहरीका तत्कालीन डिआईजीहरुको कासमु बाहिरिएको थियो । पछि प्रहरीबाट राजीनामा दिएर सिलवाल ललितपुर–१ मा प्रतिनिधीसभाको टिकट पाए र विजयी बने ।

चुनाव लगतै सर्वोच्चले प्रहरी महानिरिक्षक बढुवाका क्रममा कासमु कीर्ते भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारका नाममा आदेश दिएको थियो । त्यसपछि देउवा सरकारले दिएको निर्देशनअनुसार काठमाडौं प्रहरीले सिलवालले नै कासमु कीर्ते गरेको फाइल सरकारी वकिललाई पठाएको थियो ।

तर, उक्त फाइललाई सरकारी वकिलको कार्यलयले मुल्तबीमा अदालतमा पेश नगरी राखेको थियो । जसका कारण सिलवालविरुद्ध मुद्धा दर्ता हुन सकेन् । सिलवालले भने आफूले कीर्ते नगरेको र सञ्चारमाध्यमबाट लिएर उक्त कासमु अदालतमा पेश गरेको बताउँदैं आएका छन् ।

प्रहरीले पेश गरेको फाइल अध्ययन गरेर मुद्धा दर्ता गर्ने वा फिर्ता पठाउने अधिकार सरकारी वकिलको कार्यलयलाई हुन्छ । सोही अधिकारअनुसार सिलवाल कीर्ते प्रकरणमा पुनः अनुसन्धान हुन लागेको हो ।