महिला एसिया कपमा नेपाल आज पाकिस्तानको सामना गर्दै

महिला एसिया कपमा नेपाल आज पाकिस्तानको सामना गर्दै


काठमाण्डु-एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आइतबार पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

नेपालका लागि पाकिस्तान बलियो प्रतिद्वन्द्वी हो । नेपाल पहिलो जितले उत्साह साथ मैदानमा हुनेछ भने पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ ।

नेपालको पहिलो खेलको जितमा ब्याटिङतर्फ सम्झना खड्का र बलिङमा कप्तान इन्दु बर्माको योगदान महत्त्वपूर्ण रहयो । श्रीलंकाको डम्बुला शुक्रबार मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले यूएईले ८ विकेटको क्षतिमा दिएको ११६ रनको लक्ष्य १६.१ ओभरमा चार विकेटको क्षतिमा ११८ रन बनाउँदै पूरा गरेको हो ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ । समान दुई अंक भएको भारत रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा भारतले शुक्रबार पाकिस्तानलाई सात विकेटले हराएको हो ।

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो ।

प्रतियोगितामा आठ टोलीको सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुई–दुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ ।

नेपाली महिला एसिया कप टोलीको कप्तानी इन्दु बर्माले गरेकी छन्। नेपालले समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । यो खेल साउन ८ गते डम्बुलामै हुनेछ ।

नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो ।