काठमाण्डु – काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ ।
नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो । नेपालका लागि सिता रानामगरले २८, कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाए ।
नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २–२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १–१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।
नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक–एक विकेट लिए ।
नेपालका लागि एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका थिए ।
श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।
प्रतिक्रिया