टी–२० महिला विश्वकप : अष्ट्रेलिया र इङ्गल्याण्डको विजयी सुरुवात

टी–२० महिला विश्वकप : अष्ट्रेलिया र इङ्गल्याण्डको विजयी सुरुवात


काठमाण्डु-आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । गएराति भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो । ९४ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यस अघि शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनायोे । जीतसँगै अस्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा छ । लगातार दुई हारसहित श्रीलङ्का अङ्क विहीन रहेको छ । श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

यस्तै हिजो नै भएको दोस्रो खेलमा इङ्गल्याण्डले बङ्गलादेशलाई २१ रनले पराजित गरेको छ । इङ्गल्याण्डले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो । एक सय १९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जीतबाट सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

समूह ‘ए’मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।