महिला टी-२० विश्वकपमा आज भारत र श्रीलङ्का तथा दक्षिण अफ्रिका र स्कटल्यान्ड खेल्दै

महिला टी-२० विश्वकपमा आज भारत र श्रीलङ्का तथा दक्षिण अफ्रिका र स्कटल्यान्ड खेल्दै


काठमाण्डु-आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज भारत र श्रीलङ्का तथा स्कटल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।

समूह ‘ए’ का भारत र श्रीलङ्काबीचको खेल दुबईमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । भारत पहिलो खेलमा न्युजिल्यान्डसँग ५८ रनले पराजित हुँदा दोस्रो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो । श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग ३१ रनले र अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै आजको पहिलो खेलमा पौने ४ बजे दुबईमा समूह ‘बी’ का दक्षिण अफ्रिका र स्कटल्यान्ड खेल्दैछन् । दक्षिण अफ्रिकाले पहिलो खेलमा वेस्ट इन्डिजलाई १० विकेट हराउँदा दोस्रो खेलमा इङ्गल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । स्कटल्यान्ड उद्घाटन खेलमा बङ्गलादेशसँग १६ रन र दोस्रो खेलमा वेस्ट इन्डिजसँग ६ विकेटले पराजित भएको थियो ।

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हराएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।