वर्ल्ड इकोनोमिक फोरममा विश्वशान्तिको उद्घोष गर्दै नेपाली धर्मगुरु

वर्ल्ड इकोनोमिक फोरममा विश्वशान्तिको उद्घोष गर्दै नेपाली धर्मगुरु


काठमाण्डु – स्वीजरल्याण्डको डेभोसमा हुने वर्ल्ड इकोनोमिक फोरम समारोहमा ‘युनिभर्सल पिस सेन्चुरी’को उद्घाटन हुने भएको छ ।

विश्व शान्तिका लागि भन्दै आउँदो २१ जनवरीका दिन स्वीजरल्याण्डको डेभोसमा हुने वर्ल्ड इकोनोमिक फोरमको भव्य समारोहमा ‘युनिभर्सल पिस सेन्चुरी’को उद्घाटन हुने भएको हो ।

लुम्बिनीमा निर्माणाधीन सेन्चुरीले संसारका विविध जटिल समस्याहरूको समाधानका लागि वार्ता तथा छलफल गर्ने, भगवान् गौतमबुद्धको उपदेशलाई संसारभर फैलाउने जस्ता पवित्र उद्देश्यसहित युनिभर्सल पिस सेन्चुरी गठन गर्न लागिएको बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले जानकारी दिए ।

७० देशका करीब १ लाख बढी व्यापारी सहभागी हुने वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन स्वीजरल्याण्ड जाने तयारीमा रहेका धर्मगुरु रिन्पोछेले काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै विश्वभरका मानवलाई शान्तिको मार्गमा डेर्‍याउँदै नेपालको विकासमा पनि हातेमालो गर्न सेन्चुरी गठन गरिएको बताए ।

धर्मगुरु रिन्पोछे भन्छन्, ‘यो अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५० भन्दा बढी राजनीतिज्ञले केही दिनमै ऐक्यबद्धता जाहेर गर्नुभएको छ । युनेस्कोको विश्व सम्पदा क्षेत्रमा परेको लुम्बिनीले आशाको दीप बनि संसारभर शान्ति र समृद्धि फैलाउनेछ । यसले केबल नेपालीको मात्रै नभई सम्पूर्ण मानवजातिको दीगो विकास र समृद्धिको बाटो खोल्नेछ ।’

विश्व शान्ति अभियानअन्तर्गत बुद्धको जन्मस्थल लुम्बिनीमा ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ४४ मिटर उचाइको ४ तले विश्वशान्ति धामको निर्माण भइरहेको छ ।