काठमाडौं– रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह एच को खेलमा जापानले एतिहासिक जित हासिल गरेको छ।
मंगलबार बेलुका भएको खेलमा कोलम्बियालाई २–१ ले हराउँदै जापान विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो एसियाली देश बनेको हो।
जापानका लागि सिन्जी कागावाले खेल सुरु भएको छैठौँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएकोमा कोलम्बियाका जुवन कुन्टेरोले ३९ औँ मिनेटमा बराबरीमा ल्याए।
त्यसपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो। खेलको ७३ औँ मिनेटमा जापानका यूया ओसाकोले हेडमार्फत सुन्दर गोल गर्दै पुनः अग्रता दिलाए। ओकासोको उक्त गोल नै निर्णायक बन्न पुग्यो।
जितसँगै जापान दक्षिण अमेरिकी टिमलाई विश्वकपमा पराजित गर्ने पहिलो एसियन टिम बनेको छ। यस्तै जापानले गत विश्वकपमा कोलम्बियासँग हात पारेको ४–१ गोलको बदला समेत लिएको छ। यस्तै जापानले कोलम्बियालाई पहिलो पटक पराजित गर्दै अर्को इतिहास बनायो।
प्रतिक्रिया