टी-२० विश्‍वकप : सेमिफाइनलमा कुन-कुन टिमबीच कहिले हुँदैछ भिडन्‍त ?

टी-२० विश्‍वकप : सेमिफाइनलमा कुन-कुन टिमबीच कहिले हुँदैछ भिडन्‍त ?


काठमाण्डु- आईसीसी टी-२० विश्‍वकप २०२४ अन्तर्गत सेमिफाइनलको समिकरण पूरा भएको छ । मंगलबार बिहान अमेरिका र वेस्टइन्डिजमा भइरहेको टी-२० विश्‍वकप अन्तर्गत सेमिफाइनल समिकरण पूरा भएको हो ।

सेमिफाइनलमा  भारत, अफगानिस्तान, अफ्रिका र इंग्ल्याण्ड पुगेका छन् । यस पटकको टी–२० विश्वकपको सेमिफाइनलमा एसियाबाट दुई देश पुग्न सफल भएका छन् । सेमिफाइनलमा एसियाबाट भारत र अफगानिस्तान पुगेका छन् ।

सुपर ८ को अन्तिम खेलमा कुन टिमले कसलाई पराजित गरेर सेमिफाइनल पुगे ?

सुपर आठको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित भएको मंगलबार बिहानको खेलमा बंगलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराएको हो ।

अफगानिस्तान आईसीसी ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । समूह १ मा रहेको अफगानिस्तानले ३ खेलबाट ४ अंक जोडेको छ ।

त्यस्तै सुपर आठ चरणको आफ्नो अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । जारी विश्वकपमा भारत एक खेलमा पनि पराजित भएको छैन । समूह १ मा भारत ३ खेलमा ६ अंक सहित अन्तिम चारमा प्रवेश गरेको छ ।

त्यस्तै वेस्ट इन्डिजलाई हराउदैँ दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर ८ अन्तर्गत आफ्नो अन्तिम खेलमा ३ विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह २ मा रहेको दक्षिण अफ्रिकाको ३ खेलमा ६ अंक छ ।

त्यस्तै अमेरिकालाई हराउदैँ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको थियो । इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । समूह २ मा रहेको इङ्ल्यान्ड ३ खेलबाट ४ अंकसहित अन्तिम चारमा पुगेको हो ।

सेमिफाइनलमा कुन टिमले कसको सामना गर्दैछन् ?

अब सेमिफाइनलका दुबै खेल जुन २७ मा हुने छन् । पहिलो सेमिफाइनलको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यी दुई टोलीमध्ये हार्ने टोली टी-२० विश्वकपको उपाधि होडबाट बाहिरिने छ ।

त्यस्तै दोस्रो खेलमा भारत र इंग्ल्याण्डबीच भिडन्त हुनेछ । हार्ने टोली उपाधि होडबाट बाहिरिनेछ । सेमिफाइनल अन्तर्गतका दुबै खेल र फइनलको खेल वेस्टइन्डिजमा हुनेछन् । आईसीसी टी-२० विश्वकपको फाइनल खेल २९ जुनमा ब्रिजटाउनमा हुनेछ ।