विश्व आर्थिक शक्ति बन्ने द्वन्द्व : अमेरिका कायमै रहने कि चीनले खोस्ने ?

विश्व आर्थिक शक्ति बन्ने द्वन्द्व : अमेरिका कायमै रहने कि चीनले खोस्ने ?


काठमाडौं । चीनले आर्थिक बृद्धिलाई बढाउँदै मजबुत अर्थतन्त्र भइरहेको बेला अमेरिकासँग व्यापारिक मतभेद देखिएका छन् । चीन र अमेरिकाबीच आर्थिक द्वन्द्व नै देखिएको छ ।

हालसम्म अमेरिका विश्व आर्थिक शक्तिराष्ट्र रहेको बेला अहिलेको मुख्य लडाइँ हो – विश्व आर्थिक शक्ति अमेरिका नै कायम रहने कि चीनले खोस्ने ?

अमेरिका आन्तरिक जटिलता र समस्यामा रुमल्लिएको बेला चीन तीब्र आर्थिक विकासमा अगाडि बढिरहेको छ । अमेरिकाले आन्तरिक समस्या समाधान र वित्तीय समाधान खोज्नुको साटो चीनको विकासलाई रोक्नेतिर बढी ध्यान दिँदा दुवै देशबीच व्यापार द्वन्द्व बढेको छ ।

व्यापार द्वन्द्वबीच शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जापानमा भेटवार्ता भयो । भेटमा आपसी सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा पुनः परामर्श जारी गर्ने सहमति भएको छ ।

दुई नेताबीच भएको परामर्शमा अमेरिकी पक्षले चिनियाँ सामानमा नयाँ कर वृद्धिको विषयलाई तत्कालका लागि स्थगित गर्ने र दुई मुलुकका आर्थिक तथा व्यापार वार्ता टोलीले पहिलेका ११ चरणमा भएका प्रयासमा सहमति निर्माण गर्न नसकिएका विशेष मुद्दाहरूमा केन्द्रित भएर पुनः छलफल गर्ने सहमति भएको छ ।

चीनलाई धक्का र्पुयाउने गरी अगाडि सारिएका कदमलाई अमेरिकाले तत्काल स्थगित गरेको छ । यो स्थगन अमेरिकाका लागि बाध्यात्मक देखिएका थिए । अमेरिकाले एकपक्षीय रुपमा चिनियाँ व्यापारमा धक्का पुग्ने गरी गरेको करवृद्धि र कदमले विवाद बढाउने विषयमा अमेरिका जानकार छ । तसर्थ अमेरिका दुवै पक्षको समझदारीमा चीनलाई धक्का पुग्ने नीति कार्यान्वयन गराउन चाहन्छ, जसमा चीन सहमत हुने देखिँदैन । यसअघि समेत पटक–पटक भएका छलफलमा दुवै पक्षबीच सहमति हुन सकेको छैन ।

चिनियाँ राष्ट्रपति सी र ट्रम्पले जी–ट्वान्टी सम्मेलनको सन्दर्भमा विश्वका मुख्य अर्थतन्त्र भएका विभिन्न १९ मुलुक र यूरोपेली यूनियनका उच्च नेतासँग पनि भेटवार्ता गरेका छन् । नेताहरूले चीन र अमेरिकाबीच पछिल्लो समय विकसित सम्बन्ध, व्यापार विवाद र साझा चासोका क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय मुद्दाबारे जानकारी गराएका थिए ।

दुवै देशका आर्थिक गतिविधि विश्वभर फैलिएकाले विवादका कारण त्यसको प्रभाव विश्वभर पर्ने गर्छ । अमेरिका–चीन व्यापार विवादले विश्व अर्थतन्त्रमा सिधा असर गर्छ, जसका कारण व्यापार विवादमा विश्वको ध्यान रहने गरेको छ ।

चीन व्यापार विवादबारे देखिएका असमझदारीलाई छलफल गर्न तयार रहेको तर दुई देशबीच समानता र आपसी सम्मानमा आधारित भएर विचारविमर्श हुनुपर्ने तथा एकअर्काका वैधानिक चासोलाई सम्बोधन गर्नुपर्ने चिनियाँ राष्ट्रपति सीले बताएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सार्वभौमिकता र सम्मानका विषयमा चीनले आफ्ना मुलभूत चासोलाई सुरक्षा गर्ने राष्ट्रपति सीले बताए । उनले अमेरिकालाई चिनियाँ उद्यमी तथा विद्यार्थीलाई न्यायसंगत रूपले व्यवहार गर्न र जनता–जनताबीच समन्वयकारी भूमिकाको आदानप्रदान हुने वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिकी बन्दरगाहमा चीनलाई आवेगका भरमा व्यवहार नगरिएको र अमेरिका सधैं चीनसँग द्विपक्षीय सम्बन्ध विस्तार गरेर अघि बढ्न चाहेको बताए । अमेरिकाले चीन–अमेरिकाबीच व्यापारमा देखिएको असन्तुलनलाई सही तरिकाले समाधान गर्न दुई मुलुकबीच छलफल र वार्ताबाट अघि बढ्न सकिनेतर्फ ट्रम्पले जोड दिएका छन् ।

बाहिर देखाउन जेसुकै कुरा गरेपनि अमेरिकाले चीनको आर्थिक वृद्धिमा ‘ब्रेक’ लगाउन चाहन्छ भने चीनले आफ्नो आर्थिक वृद्धिलाई तीब्र रुपमा अगाडि बढाउन चाहन्छ । यो लडाइँमा सहमति र विमतिका प्रयास भइरहने नै छन्, लडाइँमा जसले जित्न विश्व आर्थिक शक्ति राष्ट्र बन्ने प्रतिस्पर्धाको नतिजा उसकै पक्षमा आउने छ ।