काठमाण्डु – टी–२० विश्वकप २०२४ मा समूह चरण समाप्त भएको छ । समूह चरणको अन्तिम खेलमा अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ ।
२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाएर अलआउट भयो । समूह चरणमा यो नै जारी विश्वकपको सबैभन्दा ठूलो अन्तरको जीत हो ।
विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
वेस्ट इन्डिजका ओबेद म्याककोयले तीन, मुडाकेश मोती र अकिल हुसैनले दुई, दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एक, एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रन बनाएको थियो ।
पुरणले ५३ बलमा ९८ रन बनाए । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए ।
अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एक, एक विकेट लिए ।
समूह सीबाट अफगानिस्तान र वेस्ट इन्डिज दुवै सुपर–८ मा पुगिसकेका छन् ।
सुपर–८ को समूह २ मा रहेको वेस्ट इन्डिजले इंग्ल्याड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्नेछ ।
‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ । आज साँझबाट सुपर–८ चरणका खेलहरू सुरु हुने कार्यतालिका छ ।
प्रतिक्रिया