काठमाडौं- चिनियां राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अनौपचारिक शिखर सम्मेलन सफल भएको बताएका छन् । भारतिय विदेश सचिव विजय गोखलेले दुवै नेताबीच ९० मिनेट वार्ता भएको जानकारी दिएका छन् ।
शनिबार नेपाल भ्रमणमा निस्कनुअघि मोदी र सीबीच तामिलनाडुको महाबलीपुरमस्थित कोव रिसोर्टमा वार्ता भएको थियो । दुवै नेताको वान टु वान भेटपछि प्रतिनिधीमण्डलस्तरिय भेटवार्ता भएको थियो ।
दुई नेताबीच व्यापार, अर्थ व्यवस्था र लगानीबारे संयन्त्र बनाउने सहमती समेत भएको छ । भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखलेले पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियां उपप्रधानमन्त्री हु चुन्हा र भारतिय अर्थमन्त्री निर्मला सितारमणको नेतृत्वमा संयन्त्र बनाउने सहमती भएको बताए । हु चुन्हा चिनियां राष्ट्रपति सी निकट नेता हुन् ।
गोखलेले दुवै नेताबीच कश्मिर प्रकरणबारे छलफल नै नभएको बताए । चिनियां राष्ट्रपति सीले एकल वार्ता र दुई देशको प्रतिनिधिमण्डलस्तरमा वार्ता सफल भएको भन्दै तामिलनाडुमा पाएको स्वागतप्रति खुसी व्यक्त गरे ।
उनले भने ‘हामी दुईबीच निकै राम्रो कुराकानी भयो, एकअर्काले हामीलाई साथीको रुपमा पायौं । भारतको यो भ्रमण स्मरणीय रहनेछ । यो भ्रमणले भावनात्मक सम्बन्ध पनि निकै गहिरो भएको छ ।’
भारतिय प्रधानमन्त्री मोदीले पनि विश्व र द्धीपक्षीय हितका मुद्दामा छलफल भएको बताए । उनले २१औं शताब्दीमा भारत र चीनले नयां उचाई हासिल गरिरहेको भन्दै आगामी दिनमा कुनै विवाद उत्पन्न नहुने काम गर्ने सहमती भएको दाबी गरे ।
प्रतिक्रिया