काठमाडौं – यातायात व्यवस्था विभागले ‘सिन्डिकेट’ माग गर्दै अाजदेखि (शुक्रबार) गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) आजै खारेज गर्ने चेतवानी दिएकाे छ । विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट खारेज गरिने चेतावानी दिएका हुन् ।
‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा आफैंले पनि डाटा संकलन गरिरहेका छौं,’ भट्टराईले भने, ‘सबै लगत आइसकेपछि बेलुका बस्ने विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्छ।’विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले हड्ताल गर्ने यातायात व्यवसायीलाई के कारबाही गर्ने भन्ने निर्देशन कुरिरहेको उनले बताए ।
विभागले पर्मिट खारेज गरेपछि त्यस्ता गाडी जफत गरी चलाउने तयारी सरकारले गरेको छ। सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात बन्द गरेका छन्। सवारी नचल्दा यात्रुहरू मर्कामा परेका छन्।
यसैबीच यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ। टुरिष्ट बस सञ्चालन गरेर भएपनि सर्वसाधारणलाई सुविधा दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। मेट्रोसिटी, साझा यातायात, धम्बाराही, बाबागोकर्णेश्वर, सेतो टेम्पो लगायतका यातायातका साधन चलिरहेको महाशाखाले जनाएको छ। ।
यस्तै विभागमा पञ्जीकरण भएका सवारी साधन देशभर चल्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ। सरकारले सिण्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघको बन्दका कारण शुक्रबार बिहानैदेखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरु चलेका छैनन्।
प्रतिक्रिया