काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशनमा आजदेखि नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । काठमाडौंको प्रज्ञाभवनमा भइरहेको महाधिवेशनमा नेतृत्वका लागि चुनावी प्रक्रिया अघि बढाउनु अघि सहमतिको प्रयास भइरहेको छ ।
नेतृत्वमा सहमति जुटाउनका लागि बुधबार रातिबाट प्रयास सुरु भएको हो । अध्यक्षमा दाबी गरिरहेका वर्तमान अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनालबीच बुधबार राति छलफल भएको नेताहरूले बताएका छन् ।
महाधिवेशन हल प्रज्ञा भवनमा भएको छलफलमा अध्यक्ष नेपालले आफ्नो नेतृत्व मानेर जान भुसाललाई आग्रह गरेका निकट स्रोतले बतायो । नेपालले भूसाललाई वरिष्ठ उपाध्यक्ष अथवा महासचिवमध्ये रोजेर लिइ आफ्नो नेतृत्व स्वीकार्न आग्रह गरेका थिए ।
नेपालले पार्टीको संकटकालीन अवस्थामा नेतृत्व चयन प्रक्रिया चुनावी माध्यमबाट हुँदा थप संकट आउन सक्ने भन्दै नेतृत्व चयन सहमतिमा चयन गर्न र आफूलाई स्वीकार्न आग्रह गरेका छन् ।
नेपालको आग्रहको जवाफ दिन भुसालले एक रातको समय मागेका थिए । अहिलेसम्म उनले जवाफ दिइनसकेको नेताहरू बताउँछन् । भुसाल नेतृत्वबाट पछि हट्दावित्तिकै नेतृत्व चयन सहमतिउन्मुख हुने प्रतिनिधिहरू बताउँछन् । केन्द्रीय सदस्यमा निर्वाचन गर्ने तयारी छ । निर्वाचन प्रयोजनका लागि ५० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ।
एकीकृत समाजवादीको दसौं महाधिवेशनले १ अध्यक्ष, १ सम्मानित नेता, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष १ महासचिव ५ सचिव र ५ उपमहासचिव निर्वाचित गर्नेछ।
प्रतिक्रिया