काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग एकता नगर्ने भएको छ । पार्टीको शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालले पार्टी बलियो नभएसम्म माओवादीसँग एकता गर्न नहुने राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका लागि आआफ्नो टीममा छलफल गरी एकता संयोजन समिति बनाउने निधो गरिसकेको अवस्थामा एकीकृत समाजवादीको स्थायी समिति बैठकमा महासचिव भुसालले एकता गर्न नहुने प्रस्ताव पेस गरेका हुन् ।
महासचिव भुसालको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यवहारिक रुपमा सम्भव नभएको उल्लेख गरेका छन् । ‘सैद्धान्तिकरुपमा वाम एकता आजको आवश्यकता हो तर व्यवहारिकरुपमा अहिले त्यो सम्भव छैन,’ प्रतिवेदनमा भुसालले लेखेका छन् ।
भूसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने प्रतिवेदनमा लेखेका छन् ।
पार्टीभित्र कतिपयमा एमालेसँग सामिप्य खोज्ने, अरु कतिपयमा माओवादीसँग नजिकिन खोज्ने र आमरुपमा अन्योलग्रस्त प्रवृत्ति देखिएका उल्लेख गर्दैै भुसालले प्रतिवेदनमा पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न धारणा राखेका छन् । खुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाए पार्टीले गति लिन नसक्ने उनको निष्कर्ष छ ।
प्रतिवेदनमाथि बोल्ने क्रममा नेताहरुले सामेत माओवादीसँग एकता गर्दा पार्टी विलय हुने भन्दै तत्काल एकाबारे सोच्न नहुने बताएका छन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले स्थायी कमिटीमा बोल्ने नेताहरुले महासचिवको प्रतिवेदनमाथि सुझाव राख्दै माओवादीलगायत कुनै दलसँग एकता गर्नु उचित नभएको धारणा राखेको जानकारी दिए । ‘कांग्रेस, एमाले र माओवादीसँग सहकार्य गर्दै आयौ । राष्ट्रिय पार्टी बन्न सकेन,’ उनले भने, ‘अब माओवादीलगायत दलसँग पार्टी एकता होइन, आफ्नो खुट्टामा उभिएर अघि जानुपर्छ ।’
२०७८ भदौमा नेकपा एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो । गत आमनिर्वाचनमा कांग्रेस, माओवादीसँग गठबन्धन गरे पनि राष्ट्रिय पार्टी बन्न सकेन । एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० सिट छ ।
प्रतिक्रिया