योगेश भट्टराईद्धारा १० महिनाको भाडा वापतको रकम फिर्ता

योगेश भट्टराईद्धारा १० महिनाको भाडा वापतको रकम फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले सरकारले उपलब्ध गराउने घर भाडा शीर्षकको भत्ता नलिने घोषणा गरेका छन् ।

उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महिना भाडा वापत बुझेको ९० हजार फिर्ता गर्ने घोषणा समेत गरेका छन् । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका उनले एक वक्तव्य जारी गर्दै आफूले सांसद सदस्यहरुको विवरण फारम भराउँदा काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रूपमा खुलाएको भए पनि घर भाडा वापत रकम बुझ्नेको सूचीमा आफ्नो नाम परेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु’, उनले स्पष्ट पारेका छन्, ‘सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।’

‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु’, उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

उनले भनेका छन्, ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको ९० हजार रुपैंयाँ फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।’