काठमाण्डु – भारतको उत्तर प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथले कुम्भ मेलाका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग २ पटक टेलिफोन वार्ता भएको खुलासा गरेका छन् ।
प्रधानमन्त्री ओलीले विदेशी सरकार प्रमुख र कूटनीतिक प्रतिनिधिसँग गरेको कुराकानीबारे सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गरे पनि मुख्यमन्त्री योगीसँगको कुराकानी गोप्य राखेका थिए ।
बिहीबार मुख्यमन्त्री योगीलाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा योगीले प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भइरहने जानकारी दिएका छन् ।
‘दुवै देशको बीचमा राम्रो सम्बन्ध हुनुपर्छ, नेपालका प्रधानमन्त्रीसँग मेरो २ पटक कुरा भयो । राम्रो सम्बन्ध हुँदा दुवै देशको हितमा हुन्छ,’ मुख्यमन्त्री योगीको भनाइ उदृत गर्दै प्रतिनिधिमण्डलमा सहभागी नेपाली कांग्रेसका नेता अभिषेक प्रताप साहले भने, ‘नेपालको विकासमा सहयोग गर्न तयार छौं, भारतसँग राम्रो सम्बन्ध बनाउनुहोस् ।’
मुख्यमन्त्री योगीले नेपालका नेताहरूले बोल्ने एउटा र गर्ने अर्काे प्रवृत्ति रहेको गुनासो गरेको बताइएको छ ।
जनकपुरधाम भ्रमणको निम्तो दिन मुख्यमन्त्री योगीलाई भेट्न गएको प्रतिनिधिमण्डलमा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरी, कांग्रेस नेता अभिषेक प्रताप साह लगायत सहभागी थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा मुख्यमन्त्री योगीको फोटो प्रदर्शन गरिएको सन्दर्भमा योगीले राजसंस्था र गोरखनाथ पीठको पुरानो ऐतिहासिक सम्बन्ध रहेको प्रतिक्रिया दिएका नेता साहले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणको औपचारिक निमन्त्रणाको पर्खाइ गरिरहेका बेला भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) प्रभावशाली नेता समेत रहेका योगीले नेपाल–भारत सम्बन्ध राम्रो हुनुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया