युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका


काठमाण्डु–अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा सञ्चालन गरेको युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन भएका छन् ।

स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन भएका खेलाडीहरुमा मकवानपुरका अनुप घलान,सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, मकवानपुरका सुमन योन्जन,निजगढका विकल रेग्मी र मकवानपुरका दिवस बानियाँ रहेका छन् ।

अविरल वर्षासँगै आएको पहिरोमा उनीहरु पुरिएको आशंका गरिएको छ । खेलाडीहरु छोटो बाटो भएर सुरक्षित स्थानमा आफैँ जान खोज्दा दुर्घटना भएको सूचना प्राप्त भएको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए ।

त्यस स्थानमा प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालले बताए ।