नेपालगन्ज – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन् । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन् ।
म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताए ।
नेपालगन्ज म्याराथनले स्थानिय देखी खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने बताए ।
‘राष्ट्रका लागि खेल र स्वास्थ्यकालागि खेल’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको मन्त्री अथकले बताए । म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताए ।
विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए ।
प्रतिक्रिया