प्राधिकरणका सीईओ युवराज भुसालः रामचन्द्रसँगको सम्धी नाताले फाइदा कि बेफाइदा?

प्राधिकरणका सीईओ युवराज भुसालः रामचन्द्रसँगको सम्धी नाताले फाइदा कि बेफाइदा?


काठमाडौं – लिलामणी पौडेल मूख्यसचिवबाट अवकास हुने बेला अर्थ सचिव यूवराज भुसालको नाम मूख्य सचिवका लागि चर्चामा थियो। तर, उनले सचिवबाटै अवकास लिनुपर्योे।

 

 

केही समयपछि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बेला भुसालको पनि नाम सिफारिस भयाे। तर, अन्त्यमा भुसालको नाम सिफारिसमै सीमित भयो। गत वर्ष विभिन्न मुलुकका राजदुत नियुक्त गर्ने क्रममा भुसालको नाम पनि चर्चामा आयो। तर, त्यसमा पनि उनको चर्चा यथार्थतामा परिणत हुन सकेन। भुसाल निराश नै हुनुपर्यो।

 

लोकमानसिंह कार्कीको बहिर्गमनपछि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पनि भुसालको चर्चा भयो। तर, त्यहाँ पनि नियुक्त हुने बेला अर्कै अवस्था आयो।

 

शाखा अधिकृतबाट निजामति सेवा प्रवेश गरेर नेपाल सरकारको अर्थ सचिवबाट सेवा निवृत्त भएका भुसालले अन्ततः पुनर्निर्माण प्राधिकरणको दौड भने जितेका छन्।

 

को हुन सीईओ भुसाल?
अर्थसचिवबाट सेवा निबृक्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक भए। उनी प्राज्ञिक व्यक्तित्व मानिन्छन्।

 

 

गुल्मीको साविक बाँझकटेरी गाविस ६ (हाल मदाने गाउँपालिका २) मा २०१४ सालमा जन्मेका भुसालले स्थानीय सत्यवती प्राथमिक पाठशालामाबाट प्राथमिक शिक्षा लिएका थिए। उनले हिमालय मावि बस्तु, धुर्कोट माध्यमिक शिक्षा उत्तीर्ण गरेका थिए।

 

 

पृथ्वीनारायण क्याम्पस, पोखराबाट प्रथम श्रेणीमा स्नातक, त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका भुसालले अध्ययनलाई अगाडि बढाउने क्रममा जर्मनीको डोर्टमुण्ड विश्वविद्यालयबाट विकास योजना र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी र थाइल्याण्डमा विकास अर्थशास्त्रमा स्वर्णपदक प्राप्त व्यक्ति हुन्।

 

 

 

२०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसाल २०४३ सालमा सहायक सचिव हुँदै, २०५० सालसम्म विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए।

 

 

२०५४ सालमा सहसचिव भएपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा करिब एक वर्ष, अर्थमन्त्रालको बजेट महाशाखामा चार वर्ष, परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली महावाणिज्य दुतावास कोलकातामा तीन वर्ष महावाणिज्य दूत भई काम गरेका थिए।

 

 

२०६५ सालमा सचिव बनेका उनले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनः संरचना आयोग, वन, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव छ।

 

भुसाल विशेष गरी वातावरण, प्राकृतिक श्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रिकरण, लैंगिक मामला, विकास योजना र गरीवि निवारणको क्षेत्रमा विशेष दखल राख्छन्।

 

 

उनी सदस्य सचिव हुँदा प्रशासन पुनर्संरचना आयोगले तयार पारेको सुझाव मुलुक संघीयतमा गएपछि बढी सान्दर्भिक देखिएको छ। अर्थशास्त्रमा पनि राम्रो दखल भएका भुसालले अफगान सरकारले आह्वान गरेको विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर एक वर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरेका थिए।

 

स्टाफ कलेजमा २ वर्ष अध्यापन गरेका भुसालको अभुभवलाई सरकारले राष्ट्रिय योजना आयोग तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका महत्वपूर्ण परीयोजनामा विज्ञको रुपमा प्रयोग गरिरहेको छ ।

 

सम्धी नाताले फाइदा कि बेफाइदा?

कांग्रेस वरीष्ठ नेता रामचन्द्र पौडेलका छोरासँग आफ्नी छोरीको बिबाह हुँदा भुसाल नेपाल सरकारको सहसचिव थिए।

 

 

अध्ययनमा तिक्ष्ण भएका भुसाल प्रतिस्पर्धाबाटै राज्यको माथिल्लो निकायमा पुगेपनि छोरीको बिबाहपछि भने रामचन्द्रसँग नाम जोडिन थाल्यो।

 

 

सरकारी सेवाबाट अवकासपछि पनि आफ्नो क्षमतालाई राज्यका विभिन्न निकायमा रहेर सेवा गर्न चाहने भुसाललाई सम्धि साईनोपछि कुनै राजनीतिक लाभ भने मिलेन।

 

आफ्नो क्षमतालाई निस्कृय हुन नदिन पूर्वाञ्चल विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयको आंशिक फयाकल्टी मेम्वरको रुपमा उनले काम गरीरहे।

 

विश्वव्यापी प्रतियोगीतामा समेत भाग लिएर क्षमता देखाएका उनलाई राज्यका विभिन्न पदमा नियुक्तिका क्रममा समेत रामचन्द्र पौडेलसँग जोडेर मात्र मिडियामा लेख्ने काम गरेकोमा उनी सँधै चिन्तित देखिने उनका निकटस्थहरु बताउँछन् ।

 

पुनर्निमार्णको गतिलाई बढाउँछु : भुसाल

प्रमुख कार्यकारी अधिकृत नियुक्त भइसकेपछि भुसालले पुनर्निर्माण प्राधिकरणमा भैरहेका कामलाई दु्रत गतिमा अगाडि बढाउने बताए ।  भूकम्पपीडितका घर र ऐतिहासिक सम्पदाको पुनर्निमार्णलाई एकसाथ अगाडि बढाउने योजना रहेको उनले सुनाए।

 

 

‘राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु,’ उनले भने ‘भुकम्पपिडीतको घर निर्माण सम्पन्न गरी उनीहरुको मुहारमा खुसी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ ।’

 

 

निजामति सेवामा रहँँदा सफल मानिएका अध्ययनशिल र धार्मिक स्वभावका भुसालको नेतृत्वपछि पुनर्निर्माण प्राधिकरण कतिको सफल हुने हो त्यो भने हेर्न बाँकी छ ।